झिनो अंकले नेप्से बढ्यो, कारोबार रकम घट्यो



काठमाण्डौ । साताको चौथो दिन बुधबार नेप्से परिसूचक झिनो अंकले बढेको छ ।पहिलो दिन आइतबार बढेको नेप्से दोश्रो र तेश्रो दिन लगातार घटेको थियो । आज चौथो दिन ०.४० अंकले नेप्से बढेको हो । ०.०३ प्रतिशतले परिसूचक बढ्दा १२१८.३३ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार आज १ सय ६२ कम्पनीका ८ लाख ५६ हजार १ सय ८७ कित्ता सेयर खरिद विक्री भएको छ । समग्र नेप्सेमा २२ करोड ६५ लाख २४ हजार ६ सय ४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको नेप्से परिसूचक अनुसार बैंकिङ र उत्पादनमूलक समूह बढेका छन् भने बाँकी सबै समूह राताम्मे भएका छन् । बैंकिङ समूह २.३८ र उत्पादनमूलक समूह ६.१५ अंकले बढेका छन् ।

त्यसैगरी झिनो अंकले बजार बढेको दिन होटल समूह ६.७३, विकास बैंक समूह ३.८, जलश्रोत समूह ५.६१, वित्तीय समूह २.२२, निर्जीवन बीमा समूह ५.०९, अन्य समूह १.४५, माइक्रोफाइनान्स ५.९३ र जीवन बीमा समूह १.१८ अंकले घटेका छन् ।

यसैगरी, आज मेगा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ३.११ प्रतिशतले कमाई गरेका छन् भने सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.४५ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु