पाँच तारे होटलको सेयरमा किन आकर्षित भएनन् लगानीकर्ता ?



काठमाडौं । लगानीकर्ताहरु बैंकप्रति आकर्षित हुँदा तारे होटलको सेयर मूल्य घट्दै गएको छ । बर्षको अनुपातमा तारे होटलहरुको सेयर मूल्य घट्दो क्रममा रहदा र्याडिसन होटलको सेयर मूल्य घटाई भने अन्यको तुलनामा उच्च देखिएको छ ।

गत वर्ष असोजको पहिलो हप्तामा र्याडिसन होटलको सेयर मूल्य दोस्रो बजामा प्रतिकित्ता ९ सय रुपैयाँ कायम थियो । हाल सोही होटलको सेयर मूल्य प्रति कित्ता ५ सय ४५ रुपैयाँ कायम छ । यसरी सो होटलको मूल्य १ वर्षमा ३ सय ५५ रुपैयाँले घट्न पुगेको छ ।

र्याडिसन होटलले आर्थिक बर्ष ०७४\०७५ को नाफबाट आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनश सेयर तथा ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । अहिले सो होटलको चुक्तापूँजी ९३ करोड ४२ लाख ३६ हजार ३ सय ८७ रुपैयाँ रहेको छ । होटलले कात्र्तिक १२ गते २१ औं बार्षिक साधारण सभा गर्ने जनाकारी समेत सार्वजनिक गरिसकेको छ ।

यस्तै, गत वर्ष असोजको पहिलो साता सोल्टी होटलको सेयर मूल्य दोस्रो बजारमा प्रति कित्ता ३ सय ५८ रुपैयाँ कायम थियो । हाल सोही होटलको सेयर मूल्य प्रतिकित्ता २ सय ५६ रुपैयाँ कायम छ । सोल्टी होटलको सेयर मूल्य एक वर्षमा १ सय २ रुपैयाँले घटेको छ ।

हायात होटलको सेयर मूल्य गत बर्ष साउनको पहिलो साता २ सय ९३ रुपैयाँ कायम थियो । हाल सोही सेयरको मूल्य प्रतिकित्ता २ सय ५९ रुपैयाँ कायम छ । यसरी एक बर्षमा हायात होटलको सेयर मूल्य ३४ रुपैयाँले घटेको हो ।

क्रिष्टल कन्चजंगा सेक्यूरिटिजमा भेटिएका एक लगानीकर्ता बाशु श्रेष्ठले होटलको सेयर लामो समयसम्म होल्ड गर्न नसकिने भएकाले त्यसको असर सिधैं सेयर मूल्यमा पर्न जाने बताए । श्रेष्ठ भने–‘होटलको सेयर लामो समयसम्म होल्ड गर्न सकिन्न, पैसा निकाल्न कै लागिपनि सेयर चलाउनु पर्ने अवस्था आउँछ, जस्ले गर्दा सेयर मूल्यमा नै असर देखिन्छ ।’

बैंकको ब्याज सस्तो हुनुले होटल लगायत अरु क्षेत्रमा लगानीकर्ता आकर्षित नभएको उनले बताए । साथै, वार्षिक रुपमा मूल्य घटेको देखिएपनि र्याडिसनको रिजर्भ कोष भने राम्रो रहेको उनको बुझाई रहेको छ ।

उनी भन्छन्- अहिले सप्लाई राम्रो छ, लगानीकर्ता पोर्टफोलियो परिवर्तनपनि गर्दैछन् त्यसको असर सबै होटलको सेयर मूल्यमा नै परेको छ । तत्काल र्याडिसनको मूल्यमा देखिएको वार्षिक परिवर्तनलाई भने नेप्सेको सूचकको अवस्थालेपनि असर पारेको छ ।

नेप्से सूचक माथि हुँदा र्याडीसन कै सेयर मूल्य ९ सयको हाराहारीमा रहेको र हाल सोही सेयरको मूल्य ५ सयको हाराहारीमा आएको उनले बताए ।


क्लिकमान्डु