असोज २४ गते खसीबोका काठमाडौं भित्रिने, थापाथलीबाट बिक्री हुने


काठमाडौं । दशैं पर्वका लागि लक्षित गर्दैै नेपाल खाद्य संस्थानले असोज २४ गतेसम्म खसीबोका काठमाडौं ल्याउने भएको छ । खाद्य संस्थानले मुस्ताङबाट १ हजार च्याङग्रा तथा दाङ र मकवानपुरबाट १ हजार खसीबोका ल्याउन लागेको हो ।

असोज २३-२४ गतेसम्म एक लट खसीबोका काठमाडौं आइपुग्ने खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनका अनुसार मकवानपुरको हेटौंडाबाट ५ सय खसीबोका तथा दाङको तुलसीपुरबाट ५ सय खसीबोका काठमाडौंमा ल्याइने छ ।

आयात भएको भोलिपल्टै खरिद मूल्य निर्धारण गरी थापाथलीबाट खसीबोका विक्री वितरण सुरु गरिने सापकोटाले बताए । संस्थानले ३ करोड ४९ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरी खसीबोका तथा च्याङ्ग्रा ल्याउन लागेको हो ।

हाल संस्थानले खसीबोकाको प्रति केजी मूल्य ५ सय ३० रुपैयाँ र च्याङग्राको मूल्य ७ सय ७० रुपैयाँ प्रस्ताव गरेको छ । गत वर्ष खसीबोकाको बिक्री मूल्य प्रतिकेजी ४ सय ५४ रुपैयाँ रहेको थियो । यस्तै, संस्थानबाट च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भएको थियो ।

बजार नियन्त्रणका लागि खाद्य संस्थानले प्रत्येक वर्ष निजी क्षेत्रको तुलनामा सस्तो मूल्यमा खसीबोका बिक्री वितरण गर्ने गरेको सापकोटाले बताए ।

यो वर्ष खसीबोकाको बजार मूल्यको भन्दा प्रति केजी १० रुपैयाँँ सस्तो हुने उनले बताए । प्रत्येक वर्ष दशँैतिहारको बेला संस्थानले खसीबोका खरिद गरेर राजधानी ल्याउने र बजार मूल्य भन्दा सस्तोमा बिक्री बितरण गर्ने गरेको छ ।

गत आर्थिक वर्ष खसीबोका खरिदका लागि ३ करोड ६३ लाख ४५ हजार रुपैयाँ प्रस्ताव भएको थियो । संस्थानले २ करोड ९० लाख ८६ हजार रुपैयाँ बराबरको खसीबोका तथा च्याङ्ग्रा ल्याउनका लागि खर्च गरेको थियो ।

गत वर्ष संस्थानले २३ हजार ९ सय ७७ केजी खसीबोका बिक्री गरेको थियो । संस्थानले ती खसीबोका बराबर बिक्रीबाट १ करोड ८ लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

संस्थानले गत वर्ष च्याङ्ग्रा १ करोड ८९ लाख ८९ हजार रुपैयाँ बराबरको बिक्री गरेको थियो । गत वर्ष संस्थानले १५ सय खसीबोका, १ हजार वटा च्याङ्ग्रा किन्ने लक्ष्य राखेकोमा खसीबोका ९ सय ७३ र च्याङ्ग्रा ८ सय ९० वटा किनेको थियो ।