नेपालबाट भारतमा पेट्रोलियम पदार्थको तस्करी बढेको भारतीय संचार माध्यमको दाबी




काठमाडौं । भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धीले केही समय पहिले भनेका थिए– भारत सरकारले नेपाललगायतका छिमेकी देशलाई सस्तोमा पेट्रोलियम पदार्थ दिएको छ, तर भारत भित्रै भने महंगो लिइरहेको छ ।

उनले भारतीय जनतालाई महंगोमा बेचेको पेट्रोलियम पदार्थ छिमेकीलाई किन सस्तो भन्दै प्रश्न मात्रै गरेनन्, यो सामाजिक न्याय समेत नभएको भन्दै आपत्ति समेत जनाएका थिए ।

पछिल्ला दिनमा गान्धीको सोही भनाइसँग मिल्ने गरी भारतीय सञ्चार माध्यमले समेत नेपालबाट पेट्रोलियम पदार्थको तस्करी भइरहेको र त्यसमा नेपाली सुरक्षाकर्मीको समेत मिलेमतो रहेको भन्ने आशयका समाचार सार्वजनिक गरेका छन् ।

भारतीय पत्रिका भास्करको अनलाइन संस्करणमा प्रकाशित एक समाचार विवरणका अनुसार मुम्बईमा पेट्रोलको मूल्य आइसी ९० रहेको छ । त्यो भनेको नेपाली मूल्य १४४ हो ।

यस्तै भारतको राजधानी नयाँ दिल्लीमा आइसी ८२ मा पेट्रोलको बिक्री हुन्छ । त्यो भनेको नेपाली मुद्रामा १३१.२० रुपैयाँ हो । तर विहार र उत्तर प्रदेशको केही क्षेत्रमा भने आइसी ६९ मा पेट्रोल पाइने गरेको छ । त्यो भनेको नेपाली मुद्रामा ११० रुपैयाँ हो ।

सो समाचारका अनुसार नेपाली बजारमा आएर भारतीय सवारी साधनमा पेट्रोल भर्नुका साथै ठूला ठूला ग्यालिनमा समेत नेपाल भारत सीमा क्षेत्रमा तेलको बिक्री भइरहेको छ । भारतीयले आफ्नो भूमिमा पेट्रोल नलिई नेपाली सीमावर्ती क्षेत्रकाट लिने गरेको दैनिक भास्करले समाचार लेखेको छ ।

नेपाल जान तथा आउनका लागि राहदानी नचाहिने भएकाले पनि भारतीय नागरिक नेपाल छिरेर पेट्रोलियम पदार्थको खरिद गर्ने गरेको र उनीहरुलाई कुनै पनि अवरोध नहुने समेत उक्त पत्रिकाले समाचार लेखेको छ ।

नेपाल भारत सीमा क्षेत्रकाट सहजै रुपमा पेट्रोल ल्याउन पाइने, त्यो पनि सस्तोमा पाएपछि किन भारतीय पम्पहरुबाट इन्धन लिने भन्ने मानसिकता भारतीय नागरिकमा समेत विकास भएको समाचारको आशय छ । जसका कारण नेपाल भारत सीमा क्षेत्रमा पेट्रोलियम पदार्थको ठूलो मात्रामा तस्करी भइरेको छ । त्यसमा नेपालमा सुरक्षाकर्मीले मात्रै नभई भारतीय सुरक्षाकर्मीले समेत नजानिदो तवरले सहयोग गरेको स्थानीयले बताएको भन्दै भास्करको समाचारमा उल्लेख छ ।

सुत्रहरुको दावी गर्दै दैनिक भास्कर अगाडि लेख्छ– बिहार र रक्सौलको ग्रामीण क्षेत्रमा सीमावर्ती नाकामा डिजेल र पेट्रोलको ठूलो मात्रामा तस्करी भइरहेको छ । जसका कारण नेपालमा समेत पछिल्लो दिनमा पेट्रोलको माग बढ्दै गएको छ ।

भारतले नै नेपाललाई पेट्रोलियम पदार्थको निर्यात गर्दछ । पत्रिकाले स्थानीय सहदेवा, महदेवा, अहिरवा टोल, प्रटोका, सिसवा, मटिअरवा, महुआवा, करैया जस्ता ग्रामीण क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी भएको छ । तर सुरक्षाकर्मीले कुनै पनि अवरोध नगरेको र सहज रुपमा आवत जावतका लागि मार्ग प्रशस्त गरेको आरोप समेत सो पत्रिकाले लगाएको छ ।


क्लिकमान्डु