सेयर बजारमा अर्बभन्दा बढीको कारोबार




काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । नेप्से परिसूचक २१.९७ अंकले बढेको हो । नेप्से परिसूचक १.७५ प्रतिशतले बढेर १२७९.६५ बिन्दुमा पुगेको हो ।

आज सेयर बजारमा १७३ कम्पनीले कारोबार गरेका छन् । १ करोड ३२ लाख ३१ हजार १ सय ७४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७ करोड ४२ लाख ३८ हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा १ अन्यको सूचक मात्र रातो रहेको छ ।

बैंक २९.४४, ट्रेडिङ २.७९, होटल २२.७८, विकास बैंक ३७.३१, जलविद्युत ८.११, वित्तीय ५.५९, निर्जीवन बीमा ४९.१९ , उत्पादनमूलक १०.९४, माईक्रोफाइनान्स १०.४४ र जीवन बीमा समुहका सुचक ३७.३६ अंकले बढेका छन् ।

अन्यको सूचक भने १.४६ अंकले घटेको छ ।

बजार बढेको दिन भार्गव विकास बैंकका लगानीकर्ताले ९.८२ प्रतिशतले नाफा कमाएका छन् । यस्तै गोर्खाज फाइनान्सका लगानीकर्ताले ४.५४ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

कारोबार रकम अर्ब नाघ्दा के भन्छन् लगानीकर्ता ?
अनामनगरस्थित दिपशिखा सेक्यूरिटिजमा भेटिएका लगानीकर्ता सन्तोष प्रसाद भट्ट्ले अर्थमन्त्री खतिवडाको कार्यकालमा बजारले अर्ब नाघेर पहिलो रेकर्ड रहेको बताए ।

‘नयाँ सरकार बनेपछि कारोबारले पहिलोपटक अर्ब नाघ्यो, केही समय अघि ९० करोड नाघेको बजार घट्यो, अहिले त्यस्तो नहोस्,’ भट्टले भने ।

उनले कारोबार बढेकोमा खुशी व्यक्त गर्दै गर्दा भोलि नै कारोबार घट्न सक्ने डर पनि उत्तिकै रहेको बताए । साथै, बजार बढ्नुको कारण भने बोनश खाने बेलाले गर्दा नै हो भन्नेमा उनी विश्वस्त छन् ।

क्रिष्टल कन्चनजंगामा भेटिएका लगानीकर्ता ऋषिराम खनालले बजारले एउटा गति लिन लागेको यो गतिलो संकेत भएको बताए ।

‘बजारले लगानीकर्तामा उत्साह दिन थालेकाले बजार बढेको हो, अब यो क्रम जारी नै रहन्छ, लगानीकर्ताका मनोबल सबैभन्दा ठूलो कुरा हो,’ खनालले भने ।

उनले बर्षको बोनश खाने बेलामा सेयर बजारमा आकर्षण बढ्ने भएकाले त्यसको असर नेप्से सूचकमा देखिने बताए । धेरै पछि बजारले अर्ब नाघेकाले लगानीकर्तामा यो ठूलो उत्साहको विषय हुने उनको भनाइ छ ।


क्लिकमान्डु