बुटवलका विकास बैंकहरुले सेयर धितोमा ऋण दिन थाले



बुटवल । रुपन्देहीमा विकास बैंकले शेयर कर्जा प्रवाह गर्न थालेका छन् । सेयर बजारमा सुधारका सङ्केत देखिन थालेपछि सेयर कर्जा माग गर्न लगानीकर्ता विभिन्न बैंकमा धाउन थालेका छन् ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई आकर्षित गर्ने लक्ष्यसहित सहुलियत ब्याज दरमा शेयर कर्जाको योजना सार्वजनिक गरेको बेला मोफसलका बैंकले सानो आकारमा भए पनि सेयर बजारमा लगानी विस्तार गरेका छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सेयर धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्न सकिने प्रावधान छ । राष्ट्र बैंकका अनुसार बैंकले आफ्नो प्राथमिक पूँजीको २५ प्रतिशत शेयर धितोमा कर्जा उपलब्ध गराउन सक्छन् ।

कैलाश विकास बैंकले ‘कैलाश शेयर लोन योजना’ अघि सारेर लगानीकर्तालाई आकर्षित गर्ने योजना बनाएको छ । आवश्यक कागजात पेश गरेपछि सात दिनभित्रै कर्जा प्रवाह हुने बताइएको छ ।

बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने गरी शेयर कर्जामा बजार मूल्यको ५० प्रतिशतसम्म एक वर्षका लागि ९० करोडसम्म लगानी गर्नेछ ।

कैलाश विकास बैंक क्षेत्रीय कार्यालय, बुटवलका प्रमुख कृष्ण अर्याल शेयर रजिष्ट्रारको कार्यालय बुटवल नभएका कारण ठूलो आकारमा शेयर कर्जा प्रवाह नभएको उल्लेख गर्दै सेयर कारोवार बुटवलमा कम भएको जिकिर गर्छन् ।

उनले भने, “सेयर कारोवार गर्न आफै काठमाडौँ जानुपर्ने भएकाले लगानीकर्ताले झण्झट व्यहोरेको छैन ।” प्रमुख अर्यालले बुटवल र आसपासमा कम्तीमा २५ लाख शेयर कर्जा प्रवाह भएको जानकारी दिँदै सेयर कर्जा लामो समय रहँदैन भने ।

साइन रेसुङ्गा बैंक, प्रधान कार्यालय बुटवलका नायब महाप्रबन्धक लोकराज पनेरुले राष्ट्र बैंकले तोकेको नियमानुसार साधरण सेयरको ५० प्रतिशत शेयर कर्जा प्रवाह भएको बताए । उनले सेयर कर्जाका लागि ९० प्रतिशत लगानीकर्ता काठमाडौँ धाउने गरेको उल्लेख गर्दै बुटवलमा ब्रोकर कम्पनी भर्खरै सञ्चालन भएकाले शेयर कर्जामा आकर्षण कम भएको तर्क गरे ।

“हामीले पनि अन्य कर्जाजस्तै यसलाई प्राथमिकतामा राखेर लगानी गरेका छैनौँ,” उनले भने । अहिलेसम्म १० जनाले १० लाखदेखि २५ लाखसम्म शेयर कर्जा लिएको जानकारी दिए ।

सो बैंकले दुई वर्षदेखि शेयर कर्जामा लगानी गरेको जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जामा विशेष छुट दिएको छ । आवश्यक कागजात पेश गरेको दुई दिनमा नै सर्वसुलभ दरमा शेयर कर्जा उपलब्ध हुने जनाएको छ । राष्ट्र बैंकले लागू गरेको मौद्रिक नीतिमा शेयर धितोकर्जा ५० प्रतिशत तोकिएको छ ।

चालु आर्थिक वर्ष २०७५\७६ को मौद्रिक नीतिमा गरिएको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सेयरको धितोमा प्रवाह गर्न ‘मार्जिन’ प्रकृतिको कर्जा प्राथमिक पूँजीको २५ प्रतिशतसम्म प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।

यो व्यवस्थापछि बैंकले झण्डै एक खर्बसम्म मार्जिन कर्जा (शेयर धितोमा राखेर दिइने कर्जा) प्रवाह गर्ने क्षमता राख्छन् । रासस


क्लिकमान्डु