कुशकुमार र भवन भट्टलाई प्रदेश-३ का मुख्यमन्त्रीले भने- सुरुङमार्ग प्रदेशले नै बनाउँछ



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनी निर्माण गर्ने भनेको सुरुङमार्गप्रति जनता विश्वस्त नभएको बताएका छन् ।

आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कम्पनीका प्रतिनिधिहरुसंग भएको छलफलमा मुख्यमन्त्री पौडेलले भने– कम्पनीसँग हेटौंडा–कुलेखानी– काठमाण्डौ सुरुङ मार्ग निर्माण गर्ने आधार नै छैन ।

धेरै बर्ष अगाडिबाट नेपाली जनताले सुरुङमार्गको सपना देखेको भएपनि कम्पनीले जनतालाई निराश तुल्याएको उनको भनाई थियो । उनले–‘तपाईंहरुकै कारण अव सुरुङमार्गको सपना पूरा नहुने भएको छ, त्यसैले अव प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्छ ।’

उनले पूर्वाधार कम्पनीले सुरुङ मार्ग बनाउने कुरा अनिश्चित भएको भन्दै निर्माण गर्ने आधार पनि भएको बताए ।

२० वर्ष अघिदेखिको सुरुङ मार्ग निर्माणको सपना भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरवको आयोजना भएको पनि उल्लेख गरे । उनले भने- ‘ तपाईंहरुले निर्माण गर्ने समयावधिमा काम सुरु गरेको भए हामी अहिले सुरुङबाट हेटौंडा काठमाण्डौ गरिरहेका हुन्थ्यौं ।’

कम्पनीले अझैपनि सुरुङ मार्ग निर्माण गर्ने भनेर अलमल गर्न खोजेको बताए ।

कम्पनीका अधिकारीहरु सम्मिलत टोलीले भनेका कुराप्रति उनले भने-‘अहिले नयाँ सम्झौता भएको छ भनेर एकवर्ष, दुई बर्ष अलमलाउनु होला, यतिका बर्ष त अलमलाउनु भयो, त्यसैले अव विश्वास गर्न सकिंदैन ।’

मुख्यमन्त्री पौडेललाई भेट्न हेटौंडा पुगेका टोलीका सदस्यहरुसँग आक्रोशित हुँदै अब तपाईँहरुबाट काम हुँदैन भनेका थिए ।

अब प्रदेश सरकारले २ देखि साढे २ बर्षमा सुरुङ मार्ग निर्माण सक्नेपनि बताए । उनले यो परियोजना निर्माणका लागि क्षण क्षणको महत्व रहेको भन्दै यसलाई कसैले रोकेर नरोकिने समेत बताए ।

गैर आवासीय नेपाली संघका अध्यक्ष समेत रहेको कम्पनीका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष कुशकुमार जोशी, निबर्तमान अध्यक्ष लालकृष्ण केसीलगायतको टोली सुरुङ मार्ग आफैं निर्माण गर्ने भन्दै सहयोग गर्न आग्रह गर्दै मुख्यमन्त्री कहाँ पुगेका थिए ।

सुरुङ मार्ग निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) का लागि प्रदेश सरकारले ५ करोड रकम समेत विनियोजन गरेको छ । सरकारले पोष्टबहादुर वोगटी हेटौंडा–काठमाडौं सुरुङ मार्ग नाम दिएको परियोजना निर्माण गर्ने यस अघि घोषणा गरिसकेको छ ।


क्लिकमान्डु