नेप्सेमा यो साता ८० करोडको कारोबार, पहिलो दिनको तुलनामा परिसूचक ६ अकंले बढ्यो



काठमाडौं । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८० करोड ३० लाख ७ हजार रुपैयाँको कारोबार भएको छ । २५ लाख ४२ हजार ७ सय १० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार रकममा अघिल्लो साताको तुलनामा ३१.८१ प्रतिशतले कमी आएको छ । गत साता भने १८५ कम्पनीले कारोबार गरेका थिए । १ अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैंयाको कारोबार हुँदा ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.९७ अंकले बढेर अन्तिम दिन ११८१.६९ अंकमा पुगेको देखिन्छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३७ अंकले बढेर २४९.७९ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (७ करोड ३९ लाख ६० हजार रुपैंया) को आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (१ लाख ३२ हजार कित्ता) को आधारमा एनएमबि बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या ५ सय ८८ वटाको आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता सर्वाधिक कारोबार गर्ने ५ कम्पनी मध्येमा पहिलो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड संस्थापक पर्दछ । यस्तै दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । तेस्रोमा एनएमबि बैंक तथा चौथोमा एनआइसी एशिया बैंक पदर्छ । साथै पाचौंमा भने एनएलजी इन्स्योरेन्स कम्पनी पर्दछ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुल्ला रहेको थियो । त्यसरी नै यो सातापनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनैपनि कारोबार भएन ।


क्लिकमान्डु