को बन्ला एकिकृत अनेरास्ववियुको अध्यक्ष ?
काठमाडौं । तत्कालीन नेकपा एमालेको भातृ संस्था अनेरास्ववियु र तत्कालीन नेकपा माओवादी केन्द्रको बिधार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी) छिट्टै एक हुँदैछन् ।
दुबैका माउ पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनिसकेको अवस्थामा बिधार्थी संगठनहरु एक भएर बन्ने एकिकृत अनेरास्ववियुको नेतृत्वका लागि तीब्र प्रतिष्पर्धा शुरु भएको छ ।
एकिकृत अखिलको अध्यक्ष बन्नका लागि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डका साथै बरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालका विश्वास पात्रपनि दौडमा छन् ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले आफ्ना विश्वास पात्र ऐन महरलाई अध्यक्ष बनाउन चाहेको बुझिएको छ ।
उता, अर्का अध्यक्ष पुष्पकमल दाहाललेपनि आफु निकटका रञ्जित तामाङलाई अध्यक्ष बनाउनु पर्ने अडान राखेका छन् ।
पार्टीका दुई अध्यक्षले एक–एक जना उम्मेदवार अघि सारेपछि बरिष्ठ नेता माधव नेपाललेपनि सुदेश पराजुलीका नाममा अडान लिएको बुझिन्छ । पराजुलीका पक्षमा पार्टीका अर्का बरिष्ठ नेता झलनाथ खनालपनि उभिएका छन् ।
महर तत्कालीन अनेरास्ववियुको महासचिव थिए भने तामाङ अखिल क्रान्तिकारीका अध्यक्ष थिए ।
पराजुली भने माधव नेपाल र झलनाथ खनालको विश्वास पात्रका बनेर अनेरास्ववियुको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए ।
यता, तत्कालीन अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष तथा कार्यबाहक अध्यक्षको भूमिका निर्वाह गरेका महेश बर्तौताका अनुसार अहिलेसम्म नेतृत्वका विषयमा तीब्र छलफल र बहस भइरहेको छ । उनले अध्यक्ष पदमा आफ्नोपनि दाबी रहेको बताए । उनले भने– अहिलेसम्म पार्टी शीर्ष नेतृत्वले कसैलाईपनि अघि सारेको छैन । उनले आफु सहित महर र तामाङ मध्येबाट एक जना एकीकृत अनेरास्ववियुको अध्यक्ष हुने बताए ।
अखिल एकिकरणका लागि नेकपा केन्द्रीय कमिटी सदस्य तथा पर्यटन मन्त्री रबिन्द्र अधिकारी, अखिल अध्यक्ष नविना लामा, अखिल(क्रान्तिकारी) अध्यक्ष रञ्जित तामाङ र रमेश मल्ल सदस्य रहेको कार्यदल क्रियाशील छ । सो कार्यदलले भदौ ५ गतेसम्म एकिकरण गरिसक्ने अख्तियारी पाएको छ ।
कार्यदलले गठन गरेको उपसमितिले एकताको मोडालिटी समेटिएको प्रतिवेदन भदौ २३ गते नै बुझाईसकेको छ ।
उप समितिले एकिकृत संगठनको केन्द्रीय कमिटी बढीमा ४९९ सदस्यीय बनाउने र संयोजक सहित ९ सदस्यीय केन्द्रीय कार्यालय निर्माण गर्न सिफारिस गरेको थियो ।