कुन बैंकका ग्राहकले कुन अस्पतालमा उपचार गर्दा कति छुट पाउँछन् ?




काठमाण्डौ । पछिल्लो समय बैंकहरुले आफ्ना ग्राहकलाई बैंकिङ बाहेक अन्य सेवा र सुविधा पनि दिन थालेका छन् । बैंकले आफ्ना कर्मचारी र ग्राहकको उपचार खर्चमा छुट दिलाउन अस्पतालसँग सम्झौता गर्दै आएका छन् ।

अस्पताल र बैंकबीच भएको सम्झौता बमोजिम स्वास्थ्य परीक्षण, रेडियोलोजी, प्याथोलोजी, सर्जरी, अस्पताल भर्ना शुल्क, सिटी स्क्यान लगायतका सेवामा छुट पाउन थालेका छन् ।

बैंकका ग्राहकले भने सम्बन्धित अस्पताललाई उपचार खर्च यस्तो कार्ड मार्फत भुक्तानी गर्दा छुट पाउने हुन् ।

कुन बैंकको सम्झौता कुन बैंकसँग ?

एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंकले पनि ३ वटा अस्पतालसँग सम्झौता गरेको छ । जुअनुसार एनआइसी बैंकका ग्राहकले मेडिसिटी अस्पतालमा उपचार गराउँदा ७.५ प्रतिशत छुट पाउँछन् । त्यसैगरी, ग्राण्डी र ओम अस्पतालमा उपचार गराउँदा भने १०/१० प्रतिशत छुट पाउँछन् । एनआइसीका १२ लाख ग्राहक छन्, जसमध्ये ७ लाखले कार्डको प्रयोग गर्छन् ।

ग्लोबल आईएमई बैंक
ग्लोबल बैंकले दीर्घायु गुरु अस्पताल, नर्भिक अस्पताल, ग्रान्डी अस्पताल र ओम अस्पतालसँग सम्झौता गरेको छ ।

ग्लोबल आईएमई बैंकमा खाता रहेका ग्राहकले ती अस्पतालमा उपचार गराउन जाँदा उपचार शुल्कमा ७ देखि १० प्रतिशत छुट पाउने छन् । उपचार शुल्कमा छुट पाउनका लागि बैंकको डेविट, क्रेडिट तथा प्रिभिलेज्ड कार्ड लिएको हुनुपर्ने बैंकले बताएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकका ग्राहकले नर्भिक, ग्रान्डी, नेपाल क्यान्सर अस्पताल, मेडिसिटी, दिर्घायु र ओम अस्पतालमा उपचार गराउँदा लाग्ने शुल्कको ७ देखि १५ प्रतिशत छुट पाउनेछन् । उपचार खर्चमा छुट पाउनका लागि ग्राहकले बैंकको डेविट या क्रेडिट कार्ड भने लिएको हुनुपर्छ ।

प्रभु बैंक
प्रभु बैंकमा खाता रहेका ग्राहकले मेडिसिटी, सुभेच्छा, नर्भिक अस्पतालमा उपचार गराउँदा लाग्ने शुल्कमा ५ देखि १० प्रतिशत छुट पाउनेछन् । उपचार शुल्कमा छुट पाउनको लागि प्रिभिलेज कार्ड लिएको हुनुपर्नेछ । अथवा बैंकको कर्मचारी हुनुपर्ने बैंकले बताएको छ ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकका ग्राहकले ओम अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । डेविट या क्रेडिट कार्ड लिएका ग्राहक बाहेक सेयरधनीले पनि यो सुविधा पाउनेछन् ।

एनएमबी बैंक
एनएमबी बैंकमा खाता भएका ग्राहकले मेडिसिटी, नेपाल क्यान्सर अस्पताल, स्टार हस्पिटलमा उपचार गराउँदा १० देखि १५ प्रतिशत उपचार शुल्कमा छुट पाउने छन् । उपचार शुल्कमा छुट पाउनका लागि डेविट या क्रेडिट कार्ड आवश्यक पर्ने बैंकले बताएको छ ।

माछापुच्छ्रे
माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकले नर्भिक, हिमाल डेन्टल अस्पताल, दीर्घायु र स्किन केयर क्लिनिकमा उपचार गराउँदा लाग्ने शुल्कमा १० देखि २० प्रतिशत छुट पाउनेछन् । उपचार शुल्कमा छुट पाउनको लागि बैंकले जारी गरेको डेविट या क्रेडिट कार्ड लिएको हुनुपर्ने छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ग्रान्डी, मेडिसिटी, नर्भिक र वयोधा अस्पतालमा उपचार गराउँदा लाग्ने शुल्कमा ५ देखि १० प्रतिशत छुट पाउनेछन् । उपचार शुल्कमा छुट पाउनको लागि बैंकको डेविट या क्रेडिट कार्ड लिएको हुनुपर्ने छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकका ग्राहकले नर्भिक अस्पतालमा उपचार गराउँदा उपचार शुल्कमा ५ देखि १० प्रतिशतसम्म छुट पाउने छन । यो सुविधा लिनको लागि बैंकबाट प्रिभिलेज डेविट कार्ड लिएको हुनुपर्ने बैंकले जनाएको छ ।

प्राईम कमर्सियल बैंक
प्राईम कमर्सियल बैंकमा खाता रहेका ग्राहकले ओम अस्पताल, मेडिसिटी, नर्भिक अस्पतालमा उपचार गराउँदा ७ देखि १० प्रतिशत रुपैयाँ छुट पाउने छन् । यस बाहेक प्राईमले नेपाल क्यान्सर अस्पतालसँग पनि छुटको लागि प्रक्रिया अपनाउने बताएको छ ।

प्राईममा खाता भएका सबै ग्राहकले ओम अस्पतालमा उपचार शुल्कमा छुट पाउने छन् भने मेडिसिटीमा कार्ड भएका ग्राहकले मात्रै छुट पाउने बैंकले बताएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल
यो बैंकमा खाता रहेका ग्राहकले मेडिसिटी, ओम अस्पताल, नर्भिक, अपोलो अस्पतालमा उपचार गराउँदा लाग्ने शुल्कमा छुट पाउनेछन् ।


क्लिकमान्डु