कसले किन्दैछ काठमाडौंमा घर ? कस्ता घरको बिक्री बढी छ ?




काठमाडौं । पछिल्लो समय उपत्यकामा १ करोड भन्दा कम मूल्यका घर रोजाइमा पर्ने थालेका छन् । भुकम्पपछिको समयमा मानिसले ठूला घर भन्दा १/२ तले घर बढी मन पराउन थालेका छन् ।

काठमाडौंमा २० वर्षदेखि घरजग्गा बेचविखनको काम गर्दै आएका हरि बजगाईँका अनुसार पछिल्लो समय मानिसहरुले भुकम्पपछि बनेका घर रोज्ने गरेका छन् । उनले १ देखि साढे २ तल्लासम्मका र ८० लाख रुपैयाँदेखि १ करोड ५० लाख रुपैयाँसम्ममा घरको माग धेरै रहेको बताए ।

तर, भूकम्प पछि पनि आधुनिक प्रविधियुक्त निर्माण सामाग्रीको प्रयोग गरेर बनाइएको घरको खासै माग नभएको उनको भनाइ छ ।

‘उपत्यकामा इको प्यानलका घरहरु बनेपनि पक्की घर नै रोजाईमा पर्ने गरेको छ,’ बजगाईँले भने ।

उनका अनुसार धेरै जसो विदेशबाट आएका मानिसहरुले नै घर खरिद गर्ने गरेका छन् । काठमाडौंमा बढी जसो बालाजु, महाराजगञ्ज, काब्रेस्थली र नारायणथानमा बनेका घरहरु मानिसहरुको रोजाईमा पर्ने गरेको छ ।

घरजग्गा खरिद विक्री ब्यवसायमा संलग्न ब्यक्तिहरुले घरको बढीमा माग भएको क्षेत्र भनेर उल्लेख गरेका स्थानहरु उनीहरुले बढी कारोबार गर्ने क्षेत्र भने हुनसक्ने देखिन्छ ।

अर्का घरजग्गा व्यवसायी एक्सकम कम्पनीकी निरुशा राजभण्डारीका अनुसार उपत्यकामा सानेपा, नक्साल, बालाजु बसुन्धारा, बालुवाटार लगायतका भिआइपी क्षेत्रका घरहरु मानिसहरुको रोजाईमा पर्ने गरेका छन् ।

उनले पनि हिजोआज २ तल्लासम्मका घरहरु बढी रोजाईमा पर्ने गरेको जानकारी दिइन् । उनका अनुसार मानिसहरुले १ करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मका घरहरु किन्ने गरेका छन् ।

पछिल्लो समय भुकम्प कै कारणले मानिसहरुले अरुभन्दा पक्की घरमा नै चासो देखाउने गरेको राजभण्डारीले बताइन् ।

‘उपत्यका बाहिरका मानिसहरु जसका परिवारका सदस्य विदेशमा बसोबास गर्छन्, उनीहरुले बढी घरहरु खरिद गर्ने गरेका छन्,’ राजभण्डारीले भनिन् ।

१८ वर्षदेखि घरजग्गा व्यवसाय गर्दै आएका एनबी थापा मगरका अनुसार भुकम्पपछि बनेका नयाँ मोडलका घरहरु नै पहिलो रोजाइमा पर्ने गरेको छ । उनका अनुसार साढे २ करोडसम्मका घरको बढ्दो रहेको छ ।

इमाडोल, भैसेपाटी लगायतका ठाउँका घरहरु बढी बिक्री हुने गरेको उनले जानकारी दिए । बैंकिङ क्षेत्रमा आवद्ध व्यक्तिहरुले बढी जसो घर किन्ने गरेको उनले बताए ।

‘मानिसहरुले कम मूल्य भएका घर नै रोज्ने गरेका छन्, भुकम्पको डरलेपनि होला, नयाँ घर बढी बिक्री हुने गरेका छन्,’ मगरले भने ।

नुवाकोटमा र काठमाडौं उपत्यका दुबै तिर घरजग्गाका कारोबार गर्दै आएका राजकुमार गजुरेलका अनुसार पछिल्लो समय साढे २ तल्लासम्मका पक्की घरहरु ९० लाख रुपैयाँ देखि साढे २ करोड रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् ।

उनका अनुसार बिदेशमा परिवार भएका तथा विदेशबाट नेपाल फर्केकाहरुले प्रायः घर किन्ने गरेका छन् ।

‘प्रायः मानिसहरुले १२/१२ पिल्लर भएको पक्की घर नै खोज्ने गर्छन्, भुकम्पपछि घर किन्नेहरुको रोजाई साढे २ तल्लासम्मका घर नै हुने गरेका छन्,’ गजुरेलले भने ।

रोडशोे यूपिभीसीका मार्केटिङ म्यानेजर ताराबहादुर गुरुङका अनुसार मानिसहरुको रोजाईमा प्रायः १ देखि १ करोड २५ लाख रुपैयाँसम्मका घरहरु पर्ने गरेका छन् ।

२ तल्लासम्मका पक्की घरहरु बढी किनबेच हुने गरेको उनले जानकारी दिए ।

उनका अनुसार बुढानिलकण्ड क्षेत्रमा रहेका घरहरु बढी मानिसहरुको रोजाईमा पर्ने गरेको छ । विदेशबाट आएका, बैंकिङ तथा वित्तीय क्षेत्रमा काम गर्दै गरेका र सरकारी कर्मचारीहरुले बढी घर किन्ने गरेको गुरुङले बताए ।

‘४ आनामा १८ सय स्क्वायर फिट क्षेत्रफलमा बनेका २ तल्लासम्मका घर खोज्ने मानिसहरु नै बढी हुन्छन्,’ गुरुङले भने ।

घरजग्गा खरिद विक्री ब्यवसायमा संलग्न ब्यक्तिहरुले घरको बढीमा माग भएको क्षेत्र भनेर उल्लेख गरेका स्थानहरु उनीहरुले बढी कारोबार गर्ने क्षेत्र भने हुनसक्ने देखिन्छ । यस्तै तुलनात्मक रुपमा कम मूल्य र जोखिम पनि कम देखिएकोले साढे २ तल्लासम्मका घरको माग बढी हुन सक्ने देखिएको हो ।


क्लिकमान्डु