नेपालको विजुली किन्न बंगलादेशी उर्जा राज्यमन्त्री नेपाल आउँदै
काठमाडौं । नेपालमा उत्पादन भएको विद्युत् लैजाने लगायतका विषयमा छलफल गर्न बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद आज नेपाल आउन लागेका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।
शुक्रबार मन्त्रालयमा द्विपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ ।
वार्तामा ऊर्जा सहयोग आदान प्रदान स्म्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
ऊर्जा सहयोग सम्बन्धी विषयमा यस अघि सन् २०१४ र २०१६ मा पनि छलफल भएको थियो । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले पनि सो विषयमा छलफल गरेका थिए ।
त्यस्तो समझदारी चीन र भारतसँग पनि भइसकेको छ ।
सरकारले भारतसँग जस्तै बंगलादेशसँग पनि विद्युत् व्यापार सम्झौता गर्ने तयारी गरेको छ । तर भारतसँग भएको सम्झौताको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।
बंगलादेश नेपालका केही ठूला आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ । उसले नेपालबाट करिब ५ हजार मेगावाट विद्युत् लैजान सक्ने बताउँदै आएको छ ।