माथिल्लो तामाकोशीमा काठमाण्डौबाट आइपीओ भर्ने म्याद ३ दिन बाँकी
काठमाडौं । माथिल्लो तामाकोशी हाईड्रोपावरको आईपीओलाई काठमाडौं उपत्यका भित्रबाट आवेदन बुझाउने म्याद समाप्त हुन लागेको छ । साउन १६ देखि खुलेको आइपीओको म्याद काठमाडौंमा अब ३ दिन मात्र बाँकी रहेको छ । दोलखा जिल्लाबाटै भने भदौ १४ गतेसम्म आईपीओ भर्न सकिनेछ ।
कम्पनीले २ करोड ६४ लाख ६५ हजार कित्ता मध्ये १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि आईपीओ जारी गरेको हो । उक्त आईपीओ भने कित्ताको सय रुपैंयाका दरले खुलाइएको हो ।
दोलखा जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरेर आपीओ खुल्ला गरिएको हो ।
दोलखाका स्थानीयलाई पनि ३ वर्गमा विभाजन गरिएको छ । गौरीशंकर र लामाबगर गाँउपालिकालाई क वर्गमा राखिएको छ । ट्रासमिसन लाईन भएको क्षेत्रलाई ख वर्गमा विभाजन गरिएको छ । यसरी नै अन्यलाई ग वर्गमा राखिएको छ ।
आवेदन फारम समेत विभाजन गरिएको वर्ग अनुसार नै भर्नु पर्ने व्यवस्था रहेको छ । क वर्गले हरियो, ख वर्गले निलो तथा ग वर्गमा परेका स्थानीयले कालो फारममा आवेदन दिनुपर्छ ।
साथै, सर्वसाधारणलाई भने सम्बन्धित ठाउँमा उक्त आईपीओ बेचेपछि मात्रै बिक्री खुल्ला गरिने छ ।
आईपीओ खरिद गर्न दोलखा तथा काठमाडौं उपत्यकाभित्र रहेका संकलन केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।
काठमाडौं उपत्यकाका संकलन केन्द्रहरुमा आईपीओ खुल्ला गरेको १० दिन भित्र फारम बुझाउनु पर्ने कम्पनीले जनाएको थियो । यसरी हेर्दा आवेदन साउन २५ गतेसम्म बुझाईसक्नु पर्नेछ ।
काठमाडौं उपत्यका भित्र आवेदन बुझाउन कमलपोखरीमा रहेको सनराईज क्यापिटल लिमिटेडमा सम्पर्क गर्न सकिनेछ ।
यसरी नै सनराइज बैंक लिमिटेडको (न्यूरोड, कालिमाटी, चावहिल, तिनकुने, बौंद्ध, भक्तपुर, गाबहाल, गोठाटार, शंखमुल र कलंकी) मा रहेका कार्यालयहरुमा सम्पर्क गर्न सकिने धितोपत्र निष्काशक तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।