रेल बनाउने पैसा खोज्न भौतारिदै अर्थमन्त्री खतिवडा र महानिर्देशक आचार्य




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो प्रधानमन्त्री कार्याकालदेखि नै नेपालमा रेल चालउने घोषणा गर्दै आईरहेका छन् । असारको पहिलो साता भएको चीन भ्रमणमा ओलीले चीनियाँ रेल नेपाल भित्र्याउन सम्भाब्यता अध्ययनको सम्झौता पनि गरिसकेका छन् ।

तर नेपाल भित्रै निर्माण हुन लागेको पूर्व पश्चिम रेलका लागि भने उनले चासो देखाएको देखिदैन । विज्ञहरुले पूर्व पश्चिम रेल लाईनमा भारत तथा चीनबाट आउने रेल जोड्नु पर्ने बताईरहेका बेला अर्थमन्त्री डा. युवराज खतिवडा तथा रेल विभागका महानिर्देशक अनन्त आचार्य दातृनिकाय खोज्दै हिडिरहेका छन् ।

क्लिकमाण्डूसँगको कुराकानीमा आचार्यले बताए अनुसार रेल निर्मााणका लागि पर्याप्त बजेट नभएपनि विभाग र अर्थमन्त्री विदेशी दातृ निकायको खोजी गरिरहेका छन् ।

‘अहिले विभाग र अर्थमन्त्री मिलेर रेलमा लगानी गर्ने दातृ निकाय खोजिरहेका छौं, बजेट नभएका कारण हामी दातृ संस्थाको खोजीमा दौडिरहेका हौं,’ उनले भने ।

सरकारले आगामी आर्थिक वर्षको बजेमा पूर्व पश्चिम रेल निर्माणका लागि डिपिआर तयार पार्ने घोषणा गरेको भएपनि विभागको लागि भनेर छुट्टै बजेट विनियोजन गरेको छैन ।

चालु आर्थिक वर्षमा विभागका लागि ४ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको भएपनि यो अपार्याप्त भएको विभागले बताएको थियो । विभागले बजेट अभावकै कारण पूर्व पश्चिम रेल्वे अन्र्तगतको बर्दिबास लालबन्दीको ३० किलोमीटर मार्ग मध्ये २७ किलोमिटरमा पनि राम्रोसँग काम गर्न सकेको छैन ।

विभागले यो वर्ष विभिन्न १२ स्थानमा पुल बनाउने लक्ष्य लिएको थियो । तर बजेट अभावका कारण अहिलेसम्म जम्मा २ वटा मात्रै पुल निर्माण गर्न सकिएको विभागका महानिर्देशकले जानकारी दिए ।

यस अघि क्लिकमाण्डूसँगको कुराकानीमा विभागका सूचना अधिकार तथा इन्जिनियर प्रकाश भक्त उपाध्यायले पनि विभागसँग बजेट अपुग भएको बताएका थिए । देशभर रेल सञ्चालनको संभावना अध्ययन गर्ने तथा रेल मार्ग पहिचान र विकास गर्ने उदेश्य सहित २०६८ सालमा विभाग स्थापना गरिएको थियो ।


क्लिकमान्डु