ताप्लेजुङमा अस्पताल बनाउन भट्टराई बन्धुले गरे ६५ लाखको जग्गादान




काठमाडौं । ताप्लेजुङका एक भट्टराई दाजुभाइले ६५ लाख रुपैयाँ मूल्य बराबरको जग्गा अस्पतालको लागि दान गरेका छन् । आफ्नो बिहे खर्चका लागि बुबा–आमाले छुट्याएर राखेको जग्गा उनीहरुले दान गरेका हुन् ।

मैवाखोला गाउँपालिका–३, लुकुवाकमा निर्माणाधीन अस्पतालका लागि स्थानीय नवराज भट्टराई र रविन्द्र भट्टराईले आफ्नो नाममा रहेको ६ रोपनी ९ आना जग्गा दान गरेका हुन् । उनीहरूका बुवा स्वर्गीय भवानी प्रसाद पनि समाजसेवी कृषक थिए ।

बाबु भवानीप्रसाद र आमा तुलसीमाया भट्टराईका १२ जना सन्तान छन् । तीमध्ये दुई दाजुभाइको बिहेका लागि भट्टराई दम्पतीले जग्गा छुट्याएर राखेका थिए । तर, आफैं कमाएर बिहे गरेकाले जग्गा अस्पताललाई दिइएको रविन्द्र भट्टराईले बताए ।

अस्पताललाई जग्गा प्रदान गर्न पाउँदा आमा तुलसीमाया पनि दंग छिन् ।

‘अस्पताल नहुँदा पहिले निक्कै दुःख थियो, उपचारका लागि धरान पुग्न ६ दिन लाग्ने भएकाले सामान्य रोगले पनि धेरैलाई थला पाथ्र्यो, धामी झाँक्रीले उपचार हुँदैन भनेपछि सकिन्थ्यो, यहीँ अस्पताल बन्ने भएपछि आवश्यक जग्गा दिएर केही योगदान गर्न सकिन्छ कि भन्ने सोचेर जग्गा दान गरेका हौं,’ आमा तुलसीमायाले भनिन् ।

मैवाखोला गाउँपालिका–३ मा एउटा स्वास्थ्यचौकी छ । त्यही स्वास्थ्यचौकीलाई स्तारोन्नती गरी १५ शैय्याको अस्पताल बनाउने लागिएको छ ।

‘घर छेउमै ठूलो अस्पताल बन्ने खबरले साह्रै खुसी लागेको छ, छोराहरु पनि सामाजिक कार्यमा उत्सुक भएर जग्गा दानको लागि तयार हुँदा मलाई धेरै खुसी लागेको छ, अस्पतालका लागि जग्गा प्रदान गर्न पाउँदा निकै खुसी छौं । गाउँमै अस्पताल भएपछि धेरैको मृत्यु अकालमा नहोला,’ उनले थपिन् ।

भट्टराई बन्दुबाट जग्गा प्राप्त भइसकेकोले अस्पताल बनाउन प्रक्रिया चाढै सुरु गरिने ब्यवस्थापिका संसदका सदस्य योगेश भट्टराईले जानकारी दिए ।

‘प्रत्येक गाउँपालिकामा १५ बेडको अस्पताल बनाउने सरकारको योजना छ, मैवाखोलामा अस्पताल बनाउनको लागि नवराज र रविन्द्र भट्टराई दाजुभाइबाट जग्गा प्राप्त भएको छ, केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहको लगानीमा चाढै नै अस्पताल बनाउने प्रक्रिया सुरु हुन्छ,’ सांसद भट्टराईले भने । जग्गा प्रदान गरेकोमा भट्टराई बन्धुलाई उनले धन्यवाद पनि दिए ।

मैवाखोला गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दिवस लिम्बूले भट्टराई दाजुभाइबाट जग्गा प्राप्त भएकोले अस्पताल निर्माणका लागि बजेट प्रबन्ध गर्नतर्फ लागिएको बताए ।

‘यो जग्गामा केन्द्रीय सरकारको योजनाअनुसार गाउँपालिकास्तरकै अस्पताल बनाउन पहल गर्छौं,’ उनले भने ।

सांसद योगेश भट्टराईको जन्मस्थलसमेत भएकाले अस्पताल निर्माणका लागि केन्द्रबाट सहयोग हुनेमा वडाध्यक्ष लिम्बू आशावादी छन् ।

भट्टराई दाजुभाइले अस्पताललाई प्रदान गरेको जग्गाको मूल्य हाल ६५ लाख रूपैयाँबराबर छ । जग्गादाता रविन्द्र भट्टराई सेयर विश्लेषक हुन् ।


क्लिकमान्डु