अर्थमन्त्रीले मात्रै होइन, काठमाडौंका मेयरले पनि वृद्धवृद्धालाई ढाँटे



काठमाडौं । चुनाबी मैदानमा उत्रिने बेलामा काठमाडौं महानगरपालिकाका लागि तत्कालीन नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले घोषणा गरेका थिए कि- ‘मलाई चुनाब जिताउनुहोस्, म आफ्नो क्षेत्रका वृद्धवृद्धालाई मासिक ५ हजार र ८४ वर्ष नाघेकालाई मासिक १२ हजार रुपैयाँ भत्ता दिन्छु ।’

यी र यस्तै लोकप्रिय तर महत्वकांक्षी चुनाबी घोषणापत्र बनाएका विद्यासुन्दरलाई जनताले पत्याए । उनी भारी मतान्तरले मेयरमा बिजयी पनि भए ।

वृद्धभत्ता बढाउने निर्णय आफू निर्वाचित भएको खण्डमा महानगरको मेयरको पहिलो निर्णय बनाउने घोषणासमेत गरेका थिए उनले ।

काठमाडौं महानगरपालिकाको मेयर भएर विद्यासुन्दर शाक्यले दुईवटा बजेट ल्याइसकेका छन् । यही आइतबार काठमाडौं महानगरले १३ अर्ब २ करोड १२ लखा ३७ हजारको बजेट सार्वजनिक गरेका छ । तर, अहँ चुनाबको मुखमा जनतासँग गरेको कबूलअनुसार बृद्धभत्ता बढाउने कुनै कार्यक्रम ल्याएका छैनन् ।

स्थानीय निकायमध्ये सबैभन्दा ठूलो बजेट ल्याएका शाक्यले बृद्धभत्ता दिनुको सट्टा मनमोहन जेष्ठ नागरिक सम्मान कार्यक्रम र गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान कार्यक्रम सार्वजनिक गरे ।

काठमाडौंमा मोनो रेल र धुलो धुवाँमुक्त बनाउने शाक्यको अर्को महत्वपूर्ण घोषणा थियो । तर, रेल कुदाउन त परै जाओस् मेयरले काठमाडौंका सडकको धुलोसमेत सफा गर्न सकेका छैनन् ।

संघीय सरकारले सामाजिक सुरक्षा भत्ता नबढाए पनि स्थानीय सरकारले बढाउँछ कि भन्ने आशमा बसेका बृद्ध बृद्धा एकपकट फेरि निराश बनेका छन् ।

बाम घोषणापत्रको संयुक्त चुनाबी घोषणापत्रमा वृद्धभत्ता बढाएर मासिक ५ हजार रुपैयाँ पुर्याउने उल्लेख थियो । गठबन्धनले बहुमत पायो । सरकार पनि बनायो । तर, बाम गठबन्धनको तर्फबाट अर्थमन्त्री बनेको डा. युवराज खतिवडाले गत जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटले वृद्धभत्ता बढाएन ।

चुनाबमा जनतासँग गरेको बाचा सत्तामा पुगेपछि टाँढ्ने चलनले सरकार ग्रस्त बन्दै गएको छ । अर्थमन्त्री युवराज खतिवडाले मात्रै होइन, मेयर विद्यासुन्दर शाक्यले पनि वृद्धवृद्धालाई ढाँटेका छन् ।

चुनाबअघि हामीले जित्यौं भने मासिक ५ हजार वृद्धभत्ता पुर्याउँछौ भन्ने नेकपाका नेताहरु चुनाब जितिसकेपछि भने वृद्धभत्ता ५ हजार पुर्याउने हो भने मुलुकको अर्थतन्त्रले त्यसको भार थेग्न नसक्ने बताउन थालेका छन् ।

तर, त्यसको बिकल्पका रुपमा अर्थमन्त्री खतिवडाले बृद्ध भत्ता नबढाइ ७० वर्ष पुगेका नागरिकको १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा गर्ने व्यवस्था ल्याए । त्यस्तै, खतिवडाले बजेटमा बृद्ध बृद्धालाई सन्तानले अनिवार्य रुपमा हेर्नुपर्ने कानूनी व्यस्था गरिने पनि घानाषणा गरेका छन् ।

तर, मेयर शाक्यले भने वृद्धभत्ताको बिकल्पमा वृद्धवृद्धाका लागि कुनै पनि स्किम ल्याएनन् ।

 


पुष्प दुलाल