चितवनमा बढे पर्यटक, बढ्यो राजश्व



चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा प्रवेश गर्ने पर्यटकको संख्यामा वृद्धि भएको छ । यससँगै राजस्व पनि बढेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालु आवको ११ महिनामा एक लाख ४५ हजार ७०७ पर्यटक भित्रिएका छन् जसमध्ये ९४ हजार ३७५ विदेशी, १८ हजार १८५ सार्क मुलुकका र ३३ हजार १४७ नेपाली रहेका छन् । यो संख्या गत आवको पूरै वर्षको भन्दा बढी हो ।

गत आवमा एक लाख ३९ हजार ९७८ पर्यटक भित्रिएका थिए जसमध्ये ८८ हजार १९ विदेशी, १५ हजार ९०६ सार्क मुलुकका र ३६ हजार ५३ नेपाली रहेका थिए ।

यसैगरी, आव २०७२÷०७३ मा ८७ हजार ३९१ मात्रै पर्यटक भित्रिएका थिए जसमध्ये ५० हजार १९३ विदेशी, छ हजार ६०६ सार्कका र ३० हजार ५९२ नेपाली रहेका थिए । त्यसवर्ष भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो ।

पर्यटकको संख्या बढेसँगै राजस्व पनि बढेको छ । अर्यालका अनुसार यसवर्षको जेठ मसान्तसम्ममा रु २३ करोड ७५ लाख ६३ हजार राजस्व संकलन भएको छ । गत आवमा रु २२ करोड ५१ लाख ६३ हजार राजस्व संकलन भएको थियो भने आव २०७२\०७३ मा १३ करोड १२ लाख २० हजार संकलन भएको अर्यालले जानकारी दिए ।

पछिल्ला वर्षमा नारायणगढ–मुग्लिन सडक विस्तारका कारण दिनमा सडक बन्द हुने भएकाले पर्यटकको संख्यामा कमी आएको थियो । आउँदो वर्षदेखि पर्यटकको संख्या उल्लेख्य वृद्धि हुने क्षेत्रीय होटल संघ, सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । भूकम्प, नाकाबन्दी, सडक अवरोध जस्ता समस्या समाधान भएको भन्दै उनले आउँदो वर्ष उत्साहजनक रुपमा पर्यटक जिल्ला भित्रिने अनुमान गरिएको बताए ।रासस


क्लिकमान्डु