जलविद्युत् र सिँचाईमा गुणस्तरिय तथा समयमा काम नगर्ने ठेकेदार कारवाहीमा



काठमाडौं । जलविद्युत् आयोजना तथा सिँचाईका आयोजनामा गुणस्तरिय तथा समयमा काम नगर्ने निर्माण व्यवसायीलाई तत्काल कारबाही गरिने भएको छ ।

गृह मन्त्रालयमा बुधबार विद्युत चुहावट नियन्त्रण, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइन आयोजना लगायतका विषयमा भएको छलफलमा गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुरमा राई, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थितिले समयमा काम नगर्नेलाई तत्काल कारवाही गर्ने निर्णय गरेको हो ।

विद्युत् चोरी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय प्राधिकरणका शाखा कार्यालयबीच समन्वयन गरेर काम गर्ने निर्णय भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्रणालीमा चैतसम्ममा २०.०६ प्रतिशत विद्युत चुहावट छ । चालू आर्थिक वर्ष ०७४/७५मा प्रणालीमा रहेको चुहावटलाई २०.०६ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य छ ।

गत आर्थिक वर्ष ०७३/७४मा चुहावट २२.९ प्रतिशत थियो । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ । चुहावट नियन्त्रणका लागि प्राधिकरणले चोरी नियन्त्रण गर्ने ,महशुल बक्यौता असुलीमा कडाई गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर तथा बितरण लाइनको सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।

जग्गा अधिग्रहणका लागि जिल्ला प्रशासन कार्यालयको सहमति तत्काल समाधान गर्न दिने निर्णय गरेको छ ।

सडक विस्तारको क्रममा विजुलीको पोलले पारेको असरको विषयमा आवश्यक स्थानमा पोल सार्ने निर्णय बैठकले गरेको छ ।


क्लिकमान्डु