ऐनको कुन दफा अनुसार कर लगायौंः इन्भेष्टर फोरम, अालो घाउमा नुन छर्यौंः लगानीकर्ता संघ
काठमाडौं । बोनस र हकप्रद सेयरमा प्रतिकित्ता १०० रुपैयाँ लागत मानी त्यसभन्दा बढीको बिक्रीमा पुँजीगत लाभकर लगाउने सरकारको नीतिको सेयर लगानीकर्ताका संघ संस्थाहरुले विरोध जनाएका छन् ।
सेयर लगानीकर्ताहरुको संस्था इन्भेष्टर फोरमले प्रेस विज्ञप्ति जारी गर्दै आयकर ऐनको दफा नै उल्लेख नगरी यस्तो ब्यवस्था गरिएको आरोप लगाएको छ । यस्तो ब्यवस्थाले सेयर पुँजी बजार धरासायी हुने फोरमको भनाइ छ ।
‘आन्तरिक राजस्व विभागले जारी गरेको पत्रले आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्नुको साथै करको सर्बमान्य सिद्धान्तलाई नै अपमान गरेको छ, प्रचलित आयकर ऐन नियमको कुन दफा तथा उपदफाबाट हकप्रद तथा बोनस सेयरमा कर लगाउने निर्णय भएको हो सो समेत उल्लेख नभएको सो पत्रले आम लगानीकर्तालाई पुँजी बजारप्रति निरुत्साहित बनाएको छ,’ फोरमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो ब्यवस्थाले आगामी दिनमा पुँजी बजारबाट प्राप्त हुने राजस्वको ठूलो हिस्सा गुम्ने फोरमको ठहर छ । सो पत्र लगानीकर्तालाई नोक्सानीमा कर भुक्तानी गर्नको लागि निर्देश गर्नु करको सर्वमान्य सिद्धान्त विपरित रहेको हुनाले तत्काल सो पत्र फिर्ता लिनको लागि फोरमले आव्हान पनि गरेको छ ।
यत सेयर लगानीकर्ता संघले भने सो ब्यवस्था गरेर सरकार राज्यको दायित्वबाट च्यूत भएको आरोप लगाएको छ ।
‘कर मात्र उठाउनु राज्यको अधिकार नभइ लगानीकर्ताको लगानीलाई सुरक्षा प्रदान गर्नु पनि राज्यको दायित्व हुन आउँछ, आगामी आर्थिक बर्षको बजेटबाट सेयर बजारमा ब्यक्तिगत लगानीकर्तालाई लगाइदै आएको ५ प्रतिशत पुँजीगत लाभकर बढाइ ७.५ प्रतिशत पुर्याइएको कुरालाई समेत लगानीकर्ताले अस्वभाविगक रुपमा लिएका छन्, त्यो आलो घाउँलाई मलमपट्टी गर्न नपाउँदै फेरि करको बोझ थोपर्ने गरी आएको निर्देशन कदापि स्वीकार्य छैन,’ संघले विज्ञप्ति जारी गर्दै भनेको छ ।