भरतमोहन अधिकारी भन्छन्ः राम्रो बुद्धिजीवी अर्थमन्त्री खतिवडा झुट बोल्छन् भन्ने अपेक्षा थिएन



काठमाडौं । २०५१ सालमा बनेको एमालेको अल्पमतको सरकारले बृद्धबद्धालाई भत्ता दिन सुरु गर्यो ।

मनमोहन अधिकारी नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री थिए । त्यो सरकारमा हालका प्रधानमन्त्री केपी ओली गृहमन्त्री थिए ।

एमालेले २०५१ सालमा सुरु गरेको बृद्धबृद्धालाई भत्ता दिने योजनाको एमालेले निकै लाभ उठायो । अहिले बृद्धभत्ता २ हजार रुपैयाँ पुगेको छ ।

निर्वाचनको समयमा एमालेले बृद्धभत्ता ५ हजार पुर्याउने घोषणापत्रमा लेख्यो । हरेक निर्वाचनका भाषणमा यसरी नै मत मागियो ।

तर,बजेटमा बृद्धभत्ता ५ हजार नपुर्याएपछि अर्थमन्त्री खतिवडाको आलोचनापनि भयो ।

अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिकलाई भत्ता दिने कल्पना आफ्नो कल्पना भएको भन्दै यसमा नसिकाउन आग्रह गरेका थिए । राष्ट्रियसभामा बजेट बारेमा धारणा व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले जेष्ठ नागरिक भत्ता आफ्नो कल्पना भएको बताएका थिए ।

२०५१ सालमा बजेट मार्फत बृद्धभत्ताको कार्यक्रम ल्याएका तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले बृद्धभत्ताको कल्पना हालका अर्थमन्त्रीको नभएको बताएका छन् ।

नयाँ पत्रिका दैनिकमा प्रकाशित उनको लेखमा अधिकारीले भनेका छन्- ‘दुःखसाथ भन्नुपर्छ अर्थमन्त्री खतिवडालाई धेरै राम्रो बुद्धिजीवी ठानेको थियो । तर, उहाँले ज्येष्ठ नागरिक भत्ता मेरो परिकल्पना हो भनेर संसद्मा बोलेको कुरा पत्रिकाबाट थाहा पाएँ । त्यो कसरी भन्नुभयो होला भनेर म आश्चर्यचकित भएँ ।’

उनले २०५१ सालको बजेट बनाउने टिममा खतिवडा नभएको र त्यो टिममा डा. गोविन्दबहादुर थापा, डा. डिल्लीराज खनाल, केशव आचार्य, गणेशकुमार श्रेष्ठ, गुरु न्यौपाने लगायत रहेको बताएका छन् ।

आफुले भत्ता कसरी सुरु भयो भन्नेबारे ११ वर्षअघि नै पुस्तकमा सविस्तार चर्चा गरेको अधिकारीले आफ्नो लेखमा उल्लेख गरेका छन् ।


क्लिकमान्डु