काठमाडौं महानगरकी उपमेयरले हरिप्रभा भन्छिन्,- एक वर्षमा मैले यी काम गरेँ



काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले आफ्नै अडानका कारण रानीपोखरीको निर्माण पुरानै कौशलताको आधारमा हुने बताएकी छन् ।

रिपोर्टर्स क्लब नेपालमा आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा आफुले गरेका कार्य प्रगतिहरु सार्वजनिक गर्नको लागि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएकी हुन ।

‘मलाई विश्वास गरेर मत दिनुहुने र नदिने सबैलाई धन्यवाद छ, तपाईले दिएको जिम्मेवारी महानगरको दोस्रो पदमा रहेर जति गर्नसकें त्यसको बारेमा जानकारी गराउनको लागि पत्रकार सम्मेलन गरेकी हुँ,’ उनले भनिन् ।

रानपोखरीको निर्माण पुरानै शैलीमा गर्नुपर्छ भनेर आफू निरन्तर लागेकोले त्यो काम सफल भएको उनको दाबी छ । उनले थपिन्,‘त्यस्तै धरहराको निर्माणका बारेमा धेरै कुराहरु उठिरहेका छन्, धरहरा वरिपरि मःम पसल र धरहराको काउण्टरमा साडी पसल राखिएको रहेछ, त्यो सबै मेरै पहलमा भत्काईएको छ, धरहरा निर्माणको लागि तत्काल पहल चाल्नुपर्नेमा म छु, सरकार पनि लागिरहेको छ ।’

उनले कामपा महानगरलाई वितेको एक वर्षमा गरेका केही प्रयत्नका रुपमा ९ बुँदामा प्रस्तुत गरेकी थिईन । महानगरलाई सुशासनयूक्त बनाउने प्रयास, रानीपोखरीको निर्माण, धरहराको उचित संरक्षण, नेपाली सेनाले निर्माण गरेको महाङकाल लगायतका स्थानहरुमा बनेका भवनहरुको नक्सा पास, विभिन्न समितिहरु निर्माण लगायतका योजनाहरु कार्यान्वयन गरेको जानकारी गराईन् ।

त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिकाका लागि नेपाली कांग्रेसबाट मेयरका प्रतिष्पर्धी बनेका राजुराज जोशीले नगर प्रमुख विद्यासुन्दर शाक्यले एमालेवाद लादेर जनतमतको दुरुपयोग गरेको आरोप लगाएका छन् ।

निर्वाचनमा हारेता पनि आफुले पाएको जनमतको आधारमा आफ्ना सुझावहरु निरन्तर दिएको तर मेयर शाक्यले नसुनेको गुनासो पोखे ।

उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा देखाएको एकलौटी रवैयाले प्रष्ट हुन्छ, उहाँले काम गर्न सक्नुभएन, उहाँसँग जनताले गरेको अपेक्षा कुनैपनि पूरा हुने मैले देखेको छैन्, सपार्ने भन्दा बढि बिगार्ने र विवादमा आउने काममात्रै गर्नुभएको छ, सय दिनका सय कामको सबैभन्दा बढि आलोचना खेप्नुभएको कुरा सबैलाई जानकारी नै छ ।’

मेयर शाक्यले राजनीतिक आग्रहका आधारमा एकपक्षिय निर्णय गरेको पनि उनको आरोप छ । ‘ राजधानी शहर बनाउने चुनावी नारा आश्वासनमै सिमित भएको छ, सम्पदाहरुको संरक्षणको नाममा मास्ने काम गर्नुभएको छ, समाज कल्याण हाम्रो दायित्व, सक्षम युवा उत्कृष्ट खेलकुद, उपयुक्त रोजगारी, हाम्रो जिम्मेवारी, जनउपयोगी शिक्षा सक्षम नागरिक, स्वस्थ महानगरजस्ता आकर्षण नारा दिएर निर्वाचित हुनुभएको हो, तर आजको दिनमा यी सबै कुराहरु भुलिसक्नुभएको छ ।’–उनले भने ।

आफू हारेको नेता भएको उल्लेख गर्दै उनले भने,‘म हारेर आराम गर्दै बसेको छैन, निरन्तर जनताका अधिकार र आवश्यकताहरु पूरा भए कि भएनन् भनेर बुझिरहेको हुन्छु, उहाँले भूकम्पपछिको पुर्ननिर्माणको कार्यलाई जसरी अघि बढाउनुपथ्र्यो त्यो काम गर्नु सक्नुभएको छैन्, यस्ता धेरै कुराहरुलाई मुर्त रुप दिनको लागि मेयर शाक्यलाई फेरी पनि आग्रह गर्दछु, आफ्नो पार्टीको आडमा जनतालाई दुःख दिन मिल्दैन, चुनावमा प्रतिबद्धता गरेको अनुसार काम गर्नुहोस्।’


पुष्प दुलाल