अर्थमन्त्रीसँग सहकारीको मात्रै सेयर, रुपैयाँ सहकारीमा, डलर बैंकमा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडासँग सहकारी संस्थाको मात्र सेयर रहेको छ ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणले यस्तो देखाएको हो ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष जागिर खाएर अवकास पाएका तथा राष्ट्र बैंककै गभर्नर र दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका डा खतिवडासँग अन्य सूचिकृत कम्पनीको सेयर छैन ।

खतिवडाले पेश गरेको सम्पत्ति विवरणमा सावल सहकारी संस्थामा ५ लाख रुपैयाँको संस्थापक सेयर उनकी श्रीमती कमला खतिवडाको नाममा दुर्गा भवानी बचत तथा ऋण सहकारी संस्थामा ५ हजार रुपैयाँको संस्थापक सेयर छ ।

उनले सहकारी संस्थामा ४१ लाख ५४ हजार रुपैयाँ राखेका छन् । उनले आफू संस्थापक सावल सहकारीमा २४ लाख ५४ हजार र नवदुर्गामा १७ लाख रुपैयाँ श्रीमती कमलाको नाममा छ ।

उनीसँग अमेरिकी डलरमा बैंक मौज्दात पनि छ । सयुक्त राष्ट्रसंघमा काम गर्दाको तलब सुविधा बापतबाट सो रकम कमाएको अर्थमन्त्री खतिवडाले खुलाएका छन् ।

उनीको नबिल बैंकमा रहेको खातामा १० हजार ७ सय ३ अमेरिकी डलर र सानिमा बैंकमा ५२ हजार अमेरिकी डलर गरेर जम्मा ६२ हजार ७ सय ३ अमेरिकी डलर छ ।

खतिवडासँग काठमाडौंमा २ वटा घर रहेको छ ।

एउटा ५ आनामा बनेको घर अर्थमन्त्री खतिवडाको नाममा र १४ आनामा बनेको श्रीमती कमलाको नाममा रहेको छ ।


क्लिकमान्डु