‘प्रधानमन्त्री ओलीका कारण १ करोड ४० लाख रुपैयाँ फ्रिज’




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण सरकारी कोषको १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको छ । ओलीले झापाको कमल गाउँपालिकामा निर्माणधिन रंगशालाका नाम परिवर्तन गरेर बजेट बिनियोजन गरेका कारण १ करोड ४० लाख रुपैयाँ फ्रिज भएको हो ।

रंगशाला निर्माणका लागि आर्थिक वर्ष २०७२/०७३ मा विनियोजन गरिएको ४० लाख र आर्थिक वर्ष २०७३/०७४ मा विनियोजन गरिएको १ करोड रुपैयाँ फ्रिज भएको हो । आर्थिक वर्ष२०७२/०७३ देखि रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा बजेट विनियोजन गर्न थालेपछि रंगशाला निर्माणको काम रोकिएको हो । निर्माणको काम रोकिएसँगै बजेट फ्रिज भयो ।

२०६६ सालमा सरकारले रंगशाला निर्माणधिन क्षेत्रमा रहेका ७ सय ४५ आदिवासीको चिहान हटाएर ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण गर्ने सहमति गरेको थियो । रंगशाला निर्माणका लागि बजेट माग्न काठमाडौं आएको आदिवासी रंगशाला तथा स्मृति पार्कको टोलीले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीकै कारण रंगशाला निर्माण अलपत्र परेको आरोप लगाएको हो ।

ओलीले आदिवासी रंगशालाको नाम परिवर्तन गरेर ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’को नाममा बजेट बिनियोजन गरिएपछि निर्माण रोकिएको आरोप स्थानीयले लगाएका छन् ।

सरकारले पहिलो पटक आर्थिक बर्ष २०६७/०६८ मा ‘आदिवासी रंगशाला’ निर्माणका लागि एक करोड बजेट बिनियोजन गरेको थियो । तत्कालीन रक्षामन्त्री तथा वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीले उक्त रंगशालाको शिलान्यास गरेकी थिईन् । त्यसपछि ‘आदिवासी रंगशाला’कै नाममा दोस्रो पटक पनि आर्थिक बर्ष २०७०/०७१ मा डेढ करोड र तेस्रो पटक आर्थिक वर्ष २०७१/०७२ मा ३५ लाख रुपैयाँ बजेट बिनियोजन भएको थियो । उक्त बजेटबाट रंगशाला क्षेत्रमा रहेको चिहान भत्काउने, मैदान सम्याउने, स्मृति स्तम्भ निर्माण लगायतका आधारभूत काम सम्पन्न गरिएको थियो ।

आदिवासी समुदायले लामो समयदेखि समाधिस्थलको रुपमा प्रयोग गर्दै आएको उक्त क्षेत्रमा द्धन्द्धकालमा सशस्त्र प्रहरी बल पाथिभरा गण स्थापना पछि समाधिष्टमा रोक लगाइएको थियो । समाधिस्टमै रोक लगाइएपछि आदिवासी समुदायले विरोध गरेका थिए ।

आदिवासीको विरोधपछि सशस्त्र प्रहरीको मातहतमा रहेको उक्त क्षेत्रमा आदिवासी रंगशाला तथा स्मृति पार्क निर्माण गर्ने र पुरानो समाधिस्थलको पूर्व क्षेत्रमा समाधिका लागि ठाउँ दिने सहमति भएको थियो । सोही सहमतिपछि त्यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिगंवतहरुको सम्मान र सम्झनामा अन्तर्राष्ट्रिय स्तरको ‘आदिवासी रंगशाला’ सहित स्मृति पार्क निर्माण सुरु भएको थियो ।


क्लिकमान्डु