बैंकको पैसा मेरै हो भनेर प्रमोटरले बाँडीचुँडी गरेको पनि देखियो: गभर्नर




काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले बैंक तथा वित्तीय संस्थाहरु निक्षेपको रुपमा रहेको सर्बसाधारणको पैसाप्रति बढी सम्बेदनशील हुनुपर्ने बताएका छन् ।

मेगा र टुरिजम डेभलपमेन्ट बैंकको मर्जरपछि संयुक्त कारोबारको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाका प्रमोटरहरुको दबाब बढी भएर बैंकको ब्यवस्थापन जोखिम लिनुपर्ने अबस्थामा पुगेको र केही ठाउँमा प्रमोटर आफैले पनि सर्बसाधारणको पैसामा आखाँ लगाएको उनले संकेत गरे ।

‘सर्वसाधारणको पैसा नडुबोस् भनेर राष्ट्र बैंक चनाखो रुपमा हेरिरहेको हुन्छ, पब्लिकको पैसा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ८÷१० प्रतिशत पैसा प्रमोटरको राखेर बाँकी पैसा बजारबाट उठाउनुस् भनेको हो, यसको अर्थ उठेको पैसा मेरै हो, मैले जे पनि गर्न पाउनु पर्छ भन्ने होइन्,’ गभर्नर डा. नेपालले भने ।

उनले कतिपय ठाउमा निक्षेपको रुपमा आएको पैसा मेरै हो भनेर बैंक तथा वित्तीय संस्थाका प्रमोटरले बाँडीचुँडी गरेको पनि उनले बताए ।

‘कतिपय ठाउँमा आएको पैसा सबै मेरै हो भनेर बाँडीचुँडी गरेको पनि देखियो, त्यस्ता व्यक्ति र संस्थालाई कारवाही भैरहेको छ, गतल गर्नेलाई नियामक निकायले छाड्ने वाला छैन, हामी कारवाही गरेरै छाड्छौं, प्रमोटरहरुले त बैंकमा जम्मा ८÷१० प्रतिशत पैसा हाल्ने हो, बाँकी पैसा भनेको जनताको हो, जनताको पैसालाई गलत तरिकाबाट उपयोग नगर्नुस्,’ उनले भने ।

उनले बैंक तथा वित्तीय संस्थाका संचालकहरुलाई तत्काल नाफा कमाउने ध्याउन्न छोड्न पनि सुझाए ।

‘तपाईलाई पैसा कमाउनु छ, अरबपति, खरबपति बन्नुछ भने बन्नुस, व्यक्तिगत रुपमा आफ्नो व्यवसाय चलाएर कमाउनुस् तर जनताको पैसालाई गलत तरिकाले उपयोग गरेर बैंकलाई जोखिममा नपुर्याउनुस्, गलत तरिकाको दबाव बोर्डले व्यवस्थापनलाई नदिनुस्,’ डा. नेपालले भने ।

अहिले बैंकको समस्या भनेको नाफा बढि कमाउने लालसा भएको भन्दै उनले बढी नाफा चाहिनेहरुलाई आफ्नै व्यवसाय गर्न पनि सुझाव दिए । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी बृद्धि गर्ने निर्णय सही भएको र त्यो अहिले पूर्ण रुपमा सफल भएको उनको भनाइ छ ।

‘चुक्ता पुँजी ८ अर्ब पुगेको छ, यो निर्णय गर्दा बैंकका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हरु असिन पसिन भएका थिए, यही निर्णयका कारण म ५० पटक संसदीय समितिमा बयान दिन पुगेँ, अहिले बैंक बलिया भएका छन्, सबैले तोकिए अनुसार चुक्ता पुँजी पुर्याएका छन्,’ उनले भने ।

मेगा बैंकसँग टुरिजम डेभलपमेन्ट मर्जर भएर आइतबारदेखि नै संयुक्त कारोबार सुरु भएको छ ।


क्लिकमान्डु