बाबुराम भट्टराईले भने- अर्थमन्त्री खतिवडाले बनाइरहेको बजेटमा नयाँपनको गन्ध भेटिएन



काठमाडौं । पूर्वअर्थमन्त्री समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको बजेटमा नयाँ पनको गन्ध नभेटिएको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री अतिवडाले बुधबार संसदमा प्रस्तुत गरेको नयाँ बजेटका प्राथमिकता र सिद्धान्तमाथि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

बिहीबारको संसद बैठकमा नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका भट्टराईले मुलुकको आर्थिक विकास गर्न बजेटले प्राथमिकता तोकेर जानुपर्ने बताए ।

‘आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा अर्थमन्त्री खतिवडाले प्रस्तुत गर्नुभएको प्रस्तावमा हिँजोको निरन्तरताको गन्ध देखिन्छ, नयाँपन छैन,’ उनले भने ।

मुलुकमा नयाँ ढंगले बजेट अगाडि बढाएर प्राथमिकताका आधारमा कसलाई पहिलो प्राथमिकता दिने भन्ने किटान बजेटमा नगरिएको हुँदा त्यततर्फ ध्यान दिन उनको आग्रह छ ।

मुलुकको विकासका लागि कृषि, पर्यटन, जलस्रोतलाई प्राथमिकता दिनुपर्ने तर तीबाहेक अन्य पूर्वाधार निर्माण र शिक्षालाई समेत विशेष ध्यान दिनुपर्नेमा उनको भनाइ थियो ।

सांसद भट्टराईले पूर्वधार संरचना अन्तर्राष्ट्रिय विमानस्थलको तीव्र निर्माण, सामाजिक पूर्वाधारका रुपमा शिक्षालाई परिवर्तन गरी प्राविधिक शिक्षा सञ्चालन गर्न जरुरी भएको उल्लेख गरे ।

उनले विज्ञानबिना संसारमा कुनै पनि विकास सम्भव नभएको उल्लेख गर्दै कृषि, सिँचाइ, मल बीउलाई ध्यान दिएर कृषकलाई निःशुल्क स्वास्थ्य बीमाजस्ता कार्यक्रम ल्याएर जमिनको उपयोग गर्नुपर्ने सुझाव राखे ।

त्यस्तै, छिमेकी राष्ट्र भारत र चीन दुवै छिमेकीसँग असल सम्बन्ध राखेर दुवै देशसँग बीचमा रहेर पुलका रुपमा काम गर्नुपर्ने उनको भनाइ थियो ।

भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन लागेको हुँदा छिमेकीसँगको सम्बन्धलाई राम्रो बनाएर सहयोग लिएर देशको विकास गर्नमा विशेष ध्यान पुग्नुपर्ने बताए ।
आफ्नो पालामा बिप्पा सम्झौता भएको थियो र अरु ५० देशमा बिप्पा सम्झौता गर्नुपर्ने उनले सुझाए ।

निजी क्षेत्रलाई नाफा कमाऊ कर तिर भन्ने कुरामा जानुपर्छ भन्ने सुझाव दिँदै विदेशी ठूला लगानी बढाउनुपर्ने उनको धारणा थियो ।


पुष्प दुलाल