विद्युत प्राधिकरणका ग्राहक साढे ३४ लाख, अझै ३५ प्रतिशत स्थानमा विजुली पुगेन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कूल ग्राहक संख्या ३४ लाख ६५ हजार ८२२ पुगेका छन् । प्राधिकरणले हालसम्म देशका ७६ जिल्लामा विद्युत सेवा उपलब्ध गराएको छ । त्यसमा सोलुखुम्बुमा स्थानीय निजी विद्युत कम्पनीबाट विद्युत वितरण भइरहेको छ ।

२०७४ फागुन मसान्तसम्ममा प्राधिकरणको ग्राहक संख्या ३४ लाख ६५ हजार ८ सय २२ पुगेकोमा ग्राहक संख्याको ९४ प्रतिशत गार्हस्थ ग्राहकले ४१.८५ प्रतिशत विद्युत उपभोग, १.४ प्रतिशत औद्योगिक ग्राहकले ३५.६१ प्रतिशत विद्युत उपभोग र ४.६ प्रतिशत अन्य ग्राहकहरूले २२.५४ प्रतिशत विद्युत उपभोग गरिरहेका छन् ।

नेपाल विद्युत प्राधिकरण बाहेक २८१ वटा स्थानीय सामुदायिक संस्थाहरुबाट करिब ५ लाख ग्राहकहरूलाई सेवा प्रदान गरेको छ ।
यसका साथै बुटवल पावर कम्पनीबाट स्याङ्जा, पाल्पा, अर्घाखाँची र प्यूठान जिल्लाका करिब ५० हजार ग्राहकहरुलाई विद्युत सेवा उपलब्ध भएको छ ।

प्राधिकरण मातहतका आठवटा क्षेत्रीय कार्यालय अन्तर्गतका १०३ वटा वितरण केन्द्रहरुबाट मुलुकभर ग्राहक सेवा प्रदान गरिएको छ ।
विद्युतीकरण तथा वितरण प्रणाली विस्तारको कार्य समेत भईरहेको छ । ग्रामिण विद्युतीकरणको कार्य ३३÷११ के.भि. सबस्टेशन एवम् ३३ केभी, ११ केभी तथा त्यो भन्दा साना वितरण लाइनमार्फत गरिदै आएको छ ।

१०७ वर्षमा १ हजार ७३ मेगावाट

नेपालको जलविद्युत् उत्पादनको इतिहास १०७ वर्ष पुगेको छ । यो अवधिमा कूल उत्पादन जडित क्षमता १ हजार ७३ मेगावाट रहेको छ ।
त्यसमा प्राधिकरणबाट ५६२ मेगावाट र निजी क्षेत्रबाट ५११ मेगावाट विद्युत् उत्पादन भएको छ ।

राष्ट्रिय विद्युत प्रणालीमा उच्चतम् माग करिब १ हजार ३०० मेगावाट रहेको छ । हालको विद्युत माग पूर्ति गर्न आन्तरिक उत्पादनको अलावा भारतबाट ४५० मेगावाट सम्म आयात गरी माग व्यवस्थापन गरिएको छ ।

प्राधिकरणले ६५ प्रतिशत भूगोलमा विद्युत् सेवा पुर्याएको छ भने ३५ प्रतिशत भूभागमा विद्युतीकरण गर्नै बाँकी रहेको छ ।


पुष्प दुलाल