अर्थमन्त्रीले पत्रकारलाई भने- मेरो मूल्यांकन गर्नुभन्दा पहिला आफ्नै मूल्यांकन गर्नुहोस्



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा पत्रकारमाथि खनिएका छन् । सार्वजानिक कार्यक्रममा मन्त्री खतिवडाले पत्रकारहरुलाई आफ्नो मूल्यांकन गर्न सुझाब दिए ।

बुधबार राष्ट्रिय वाणिज्य बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबार शुरु गर्दै खतिवडाले मर्जरको योजना आफ्नो भएको प्रष्ट पारे ।

‘मैले मर्जरको कुरा ल्याउँदा धेरै विवाद ल्याउन खोजियो, कतिपयले यो गभर्नरले मर्जर गरेर संख्या घटाउँछ र लाइसेन्स खोलेर भटाभट बेच्छ भन्ने आरोप पनि लगाउन भ्याए,’ अर्थमन्त्री खतिवडाले भने, ‘ती पत्रकारहरुलाई आज मेरो प्रश्न छ, तपाईहरुले आज एक पटक आफुलाई पुनः मूल्यांकन गर्नुस् । आफु कहाँ हुनुहुन्थ्यो र आज के भैरहेको छ, हेर्नु होला । हामी रिपिटेड्ली भेट भइरहन्छौं । र, छलफल गरिरहन्छौं ।’

आफूले आफुलाई सत्य प्रमाणित गराउँदै आएको खतिवडाले बताए ।

‘हाम्रा विरुद्ध लेख्नेहरु फेरी पनि गलत सावित हुँदै जानेछन्,’ उनले भने । २ वा ५ बर्षपछि आफू पदमा नरहँदा पनि चुनौतीको सामना गर्न म तयार रहेको उनको भनाइ छ ।

‘मेरो मूल्यांकन गर्न हिजो के भनेको थिएँ र आज कै भैरहेको छ, मैले हिजो भनेको र गरेको कामले के नतिजा दिईरहेको छ भनेर हेर्नु होला,’ उनले भने, ‘फेरी पनि मेरो मूल्यांकन गर्न केहि बर्ष पर्खनुस, मैले आज भनेका र गरेका कुराहरुले भोली के नतिजा ल्याउँछ त्यो पनि हेर्नु होला । हामीले बोलेका कुरालाई तथ्यका आधारमा लेख्नोस् । आलोचना गर्नुस्, अफवाहमा पत्याउनेवाला कोहि पनि छैन् ।’

अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका अधिकारीहरुलाई कान खोलेर सुन्न आग्रह समेत गरेका छन् ।

‘राष्ट्र बैंकका साथीहरुलाई भन्न चाहान्छु कि मलाई पनि नराम्रो गर्दा कारवाही गर्ने निकाय छ । राष्ट्र बैंकले पनि राम्रो गरेन भने कारवाही गर्ने निकाय छ, यो कुरा कान खोलेर हामीले सुन्नु पर्छ,’ पूर्वगभर्नरसमेत रहेका खतिवडाले भने ।

वित्तिय प्रणालीमा चक्रिय संकटहरु आइरहेन बताउँदै ती संकटहरुको सामना गर्न राष्ट्र बैंक रुपले तयार हुनुपर्ने उनको भनाइ थियो ।

‘अहिले हामी सन्तोषजनक परिस्थितिमा छौं, तर राष्ट्र बैंक चुप लागेर बस्यो भने फेरी समस्या आउन सक्छ’ उनले भने ।

स्थलगत निरिक्षणको कामलाई बढाउने, निरक्षणको गुणस्तर अभिवृद्धि, राम्रा सञ्चालकलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कानुनको दायरामा ल्याउनु पर्नेमा खतिवडाले जोड दिए ।

‘फाइलहरु लुकाउने, गायब गराउने, मुलाहिजा गर्नेहरुलाई कारवाही गर्नुस् । दण्डहिनता अशोभनिय मात्रै होइन, असह्य छ । वित्तिय प्रणालीमा हुने अपराध असह्य छ । जो सुकैले वित्तिय प्रणालीमा आघात पुरुयाउँने काम गर्छ भने कानुनको दायरामा ल्याउनु पर्छ,’ उनले भने ।


पुष्प दुलाल