मासिक ४ हजार आन्तरिक पर्यटक पुग्छन्, भेरी ववई डाइभर्सन




काठमाडौँ । नयाँ प्रविधि प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउँदा सोचेभन्दा बढी प्रगति हासिल हुन सक्छ भन्ने उदाहरण बनेको छ भेरी बबई डाइर्भन आयोजना ।

पहिलो पटक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरेर निर्माण शुरु भएको सो आयोजनाको छ महिनाभित्र कूल १२ किलोमिटर लामो सुरुङमध्ये चार किलामिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।

हालकै गतिमा आयोजना अगाडि बढेको खण्डमा आगामी छ महिनाभित्र थप चार किलोमिटर सुरुङ निर्माण हुने आयोजनाले जनाएको छ ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) रुक्माङ्गद खनालका अनुसार आयोजनाको प्रगति असाध्यै राम्रो रहेको र हालकै गतिमा आयोजना अगाडि बढे आगामी छ महिनामा ५० प्रतिशत सुरुङ निर्माण हुनेछ ।

सन् २०२० सम्म सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ हाल दैनिक औसत २५ मिटरका दरले सुरुङ निर्माण भइरहेको छ ।

बाँके र बर्दियाको करीब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ शुरू गरिएको आयोजना निर्माणले गति लिएपछि चासो राख्ने समूह पनि बढ्दै गएको छ ।

अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम उपकरणको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म चार हजार मिटर सुरुङ खनिसकिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरू भएको हो ।

आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार टिबिएमको सफल परीक्षण भएको र अन्य आयोजना निर्माणका लागि सहज वातावरण बनेको छ ।

परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्थ्यो तर टिबिएम प्रयोग भएपछि भने सहज भएको आयोजनाले जनाएको छ ।

भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य लिइएको छ ।

प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरू क्रियाशील रहेको जानकारी दिँदै सिडिई खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत ३५ प्रतिशत रहेको बताए ।

आयोजनाको कूल लागत १६ अर्ब ४५ करोड रुपैयाँ छ । सुरुङ निर्माणका लागिमात्रै १० अर्ब ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भेरीको पानीलाई बबई नदीमा खसालेर सिँचाइ तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो ।

सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो । हाल आयोजनामा दैनिक ८० जना विदेशी र ५०० भन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराइनेछ । रासस


क्लिकमान्डु