
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रको आत्मविश्वास जगाउनु र लगानी विस्तार गर्नु नै सरकारको मुख्य एजेन्डा रहेको बताएका छन् । उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग मंगलबार विशेष छलफललाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले अबको साझा राष्ट्रिय मन्त्र ‘लगानी, लगानी र केवल लगानी’ हुनुपर्नेमा जोड दिए ।
विगत लामो समयदेखि समस्याहरूको सूची तयार पार्ने र एक-अर्कालाई आरोप-प्रत्यारोप गर्ने परम्परा देखिएको उल्लेख गर्दै मन्त्री वाग्लेले अब सरकार र निजी क्षेत्रबीच नयाँ कार्यसंस्कृतिको सुरुवात भएको घोषणा गरे ।
‘म यहाँहरूमाझ कुनै भाषण दिन वा समस्याहरूको सूची सुन्न मात्र आएको होइन; समस्याको ठोस र व्यावहारिक समाधान निकाल्न आएको हुँ,’ उनले भने ।
बजेटमार्फत ऐतिहासिक संरचनागत सुधारको थालनी गरिएको भन्दै अर्थमन्त्री वाग्लेले यसै वर्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका ४२ वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेको जानकारी दिए ।
निजी क्षेत्रले उठाएका जायज विषयहरूलाई तत्काल सम्बोधन गर्न र विभिन्न निकायबीच समन्वय कायम गर्न अर्थ मन्त्रालयमा उच्च प्राथमिकताका साथ ‘रेस्पोन्स डेस्क’ स्थापना गरिने उनले प्रतिबद्धता व्यक्त गरे ।
‘अब फाइल थन्किने होइन, द्रुत गतिमा निर्णय र समाधान हुने कार्यसंस्कृतिको विकास गरिनेछ,’ उनले भने ।
अर्थमन्त्री वाग्लेले सरकारले तीनवटा स्पष्ट परिणामलाई लक्ष्यमा राखेको बताए।
उद्योगहरूको पूर्ण क्षमतामा सञ्चालन, वर्तमान व्यवसायीहरूको निर्बाध विस्तार र नयाँ पुस्ताका लागि उद्यमको सिर्जना नै सरकारको मूल उद्देश्य रहेको उनको भनाइ थियो । ‘सरकार आफैँले उद्योग चलाउने होइन; सरकारको काम त उद्यमीहरूलाई बिनाअवरोध उद्योग चलाउन सक्ने लगानीमैत्री, सुशासित र सहजीकरणयुक्त वातावरण निर्माण गरिदिनु मात्र हो,’ उनले भने ।
उद्यमीहरूको नाफा र सम्पत्तिको सुरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री वाग्लेले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलता भएको बताए । उनले भने, ‘निजी क्षेत्रले गरेको लगानी पूर्ण रूपमा सुरक्षित रहनेछ र त्यसले उचित प्रतिफल प्राप्त गर्नेछ भन्नेमा हामी स्पष्ट छौँ ।’
प्रधानमन्त्री स्वयं निजी क्षेत्रका सवालमा अत्यन्त गम्भीर रहेको र मुख्य विषयहरूमा मन्त्रिपरिषद्का सहकर्मीहरूसँग तत्काल फलो-अप गरिरहेको जानकारी दिँदै मन्त्री वाग्लेले आयातमा आधारित अर्थतन्त्रलाई स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्न उद्योग क्षेत्रले नेतृत्व लिनुपर्नेमा जोड दिए। उत्पादन, लगानी र उद्यमशीलताबाट स्वाभिमानी र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्य प्राप्तिका लागि सरकार निजी क्षेत्रसँग निरन्तर उभिने प्रतिबद्धता समेत उनले जनाए ।
सम्बोधनको पूर्णपाठ





प्रतिक्रिया