जर्ज जिससको काँधमा पोर्चुगलको कमाण्ड: रोनाल्डोको भूमिका फेरिने संकेत

574
Shares

एजेन्सी । पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा जर्ज जिसस नियुक्त भएपछि अहिले विश्व फुटबलमा नयाँ बहस सुरु भएको छ । विशेषगरी, फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको भविष्य र टोलीमा उनको भूमिकालाई जिससले कसरी व्यवस्थापन गर्लान् भन्ने विषयले चर्चा पाएको छ।

सन् २०२६ को विश्वकपमा पोर्चुगलको प्रदर्शन निराशाजनक रह्यो। रोबर्टो मार्टिनेजको नेतृत्वमा रहेको टोली राउन्ड अफ १६ मा स्पेनसँग पराजित भएर बाहिरिएको थियो। त्यस समयमा प्रशिक्षक मार्टिनेजले रोनाल्डोको निकै बचाउ गरे पनि बढ्दो उमेर र खस्कँदो लयका कारण रोनाल्डोलाई ‘सुरुवाती ११’ मा राख्ने कि नराख्ने भन्ने विवाद चर्किएको थियो।

बेन्फिकाका पूर्व अध्यक्ष लुइस फिलिपे भिएराका अनुसार जर्ज जिसस एक उच्च स्तरीय व्यावसायिक प्रशिक्षक हुन्। धेरै समयपछि पोर्चुगलको टोलीले स्वदेशी (पोर्चुगिज) प्रशिक्षक पाएकोमा उनले खुसी व्यक्त गरेका छन्। जिसससँग साउदी लिग (अल-नासर) मा रोनाल्डोसँग काम गरेको अनुभव पनि छ, जसले गर्दा उनलाई टोली सम्हाल्न सजिलो हुने विश्वास गरिएको छ।

भिएराको भनाइअनुसार, अब रोनाल्डोले एउटा कठिन यथार्थ स्वीकार गर्नुपर्नेछ। यदि उनी राष्ट्रिय टोलीमा टिकिरहन चाहन्छन् भने उनले ‘हरेक खेलमा सुरुवाती ११ मै पर्छु’ भन्ने जिद्दी छोड्नुपर्ने हुन सक्छ। प्रशिक्षक जिससले रोनाल्डोसँगको पुरानो सम्बन्धलाई प्रयोग गर्दै उनलाई कहिले मैदानमा उतार्ने र कहिले बेन्चमा राख्ने भन्ने सन्तुलन मिलाउनेछन्।

धेरैलाई लागेको थियो कि नयाँ प्रशिक्षक आउनेबित्तिकै धेरै पुराना खेलाडीहरू हटाइनेछन्। तर, जिससले स्पष्ट पारेका छन् कि उनी हतारमा ठूलो फेरबदल गर्ने पक्षमा छैनन्। उनले भनेका छन्, ‘म मूर्ख छैन, मलाई थाहा छ कि नयाँ खेलाडीहरूलाई घुलमिल गराउन समय लाग्छ। त्यसैले अहिले भइरहेकै खेलाडीहरूलाई निरन्तरता दिँदै सुधार गरिनेछ।’

प्रशिक्षक जिससको एउटा खास रणनीति छ ‘म्याच बाइ म्याच’ । उनी धेरै टाढाको सोचेर दबाब लिनुभन्दा पनि अगाडि जे छ, त्यही खेल जित्ने लक्ष्य राख्छन्। यही अनुशासित र व्यावहारिक सोचले पोर्चुगललाई फेरि उचाइमा पुर्‍याउने भिएराको विश्वास छ।

रोनाल्डोको कीर्तिमानी विरासत लाई सम्मान गर्दै उनलाई सम्मानजनक रूपमा विदा गर्ने वा उनको भूमिकालाई नयाँ ढङ्गले परिभाषित गर्ने चुनौतीपूर्ण जिम्मेवारी जर्ज जिससको काँधमा आएको छ। अब पोर्चुगिज फुटबल ‘रोनाल्डो केन्द्रित’ मात्र नभएर सामूहिक रणनीतिमा अघि बढ्ने संकेत देखिएको छ।