
एजेन्सी । विश्वका प्रमुख फुटबल विश्लेषण साइट ग्लोबल फुटबल र्याङ्किङले प्रकाशित गरेको पुरुष लिग र्याङ्किङअनुसार क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी खेल्ने लिगहरूबीच ठूलो फरक देखिएको छ ।
रोनाल्डो हाल साउदी प्रो लिगको अल-नासरका लागि खेल्छन् । स्पोर्ट्स वेबसाइट स्ट्राइकर रिपोर्टले ग्लोबल फुटबल र्याङ्किङको डाटा उद्धृत गर्दै जनाएअनुसार यो लिग खेलाडी र लगानीको दृष्टिले टप-१५ भित्र पर्छ र अलनासर तथा अलहिलाल जस्ता क्लब महादेशीय स्तरका शक्तिशाली टिम मानिन्छन् ।
तर प्रतिस्पर्धा-आधारित र्याङ्किङ प्रणालीमा भने अवस्था फरक छ ।
ग्लोबल फुटबल र्याङ्किङले साउदी प्रो लिगलाई ३६औं स्थानमा राखेको छ । जबकि टिमफर्मको सूचकांकमा यो लिग ६८औं स्थानमा छ, जसले शीर्ष चार क्लबबाहेक अन्य टिमहरूको गुणस्तरमा कमजोरी रहेको संकेत गर्छ ।
अर्कोतर्फ, मेस्सी खेल्ने अमेरिकाको मेजर लिग सक्कर (एमएलएस) ले भने विश्वव्यापी र्याङ्किङमा निरन्तर सुधार देखाइरहेको छ।
ब्राजिलको सेरी आले युरोपबाहिरका सबै लिगको नेतृत्व गर्छ र पोर्चुगल, नेदरलान्ड्स, एमएलएस र लिगा एमएक्सले विश्वको टप-१० पूरा गर्छन् ।
साथै, एमएलएस विश्व र्याङ्किङमा सबैभन्दा छिटो माथि उक्लिरहेको लिग हो जुन २०२५-२६ सिजनमा तीन स्थान माथि चढेको छ।
मेस्सी र इन्टर मियामीको एमएलएस कप जितले अमेरिकी फुटबललाई विश्व नक्सामा पहिले भन्दा बढी चिनाएको छ । यसरी हेर्दा, जीएफआर र्याङ्किङअनुसार मेस्सीको लिग (एमएलएस) विश्वको टप-१० भित्र पर्छ जबकि रोनाल्डोको लिग (साउदी प्रो लिग) ३६औं स्थानमा छ । अर्थात् प्रतिस्पर्धा-आधारित मापनमा मेस्सीको लिग रोनाल्डोको भन्दा धेरै अगाडि देखिन्छ।
प्रिमियर लिग नै सर्वोत्तम
२०२६ को ताजा विश्वव्यापी फुटबल लिग विश्लेषणले संसारभरिका प्रमुख लिगहरूको हैसियत छर्लंग पारेको छ । गुणांक, स्क्वाड बजार मूल्य र खेलाडी गुणस्तर सूचकहरूलाई आधार मानी तयार गरिएको यो विश्लेषणअनुसार इङ्लिस प्रिमियर लिग २०२६ मा विश्वको उत्कृष्ट फुटबल लिग रहेको छ । जसको कुल स्क्वाड बजार मूल्य १२.५६ अर्ब युरो छ जो ला लिगा र सेरी आ मिलाउँदा भन्दा पनि बढी हो र प्रत्येक म्याचमा औसत ४० हजार ४७४ दर्शक हुन्छन् ।
स्पेनको ला लिगाले विश्व र्यांकिङमा दोस्रो स्थान कायम राखेको छ जहाँ रियल मड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा उत्कर्षमा छ भने एटलेटिको मड्रिड, एथलेटिक बिल्बाओ र भिलारियलले उपाधि दौडलाई रोचक बनाइरहेका छन् ।
तेस्रो स्थानमा इटालीको सेरी आ छ, जसले २०२६ यूईएफए गुणांक र्यांकिङमा दोस्रो स्थान ओगटेको छ र यसको कुल स्क्वाड मूल्य ५.३६ अर्ब युरो पुगेको छ। जर्मनीको बुन्डेसलिगा चौथोमा र फ्रान्सको लिग १ पाँचौंमा छन्।
एशियाली र अमेरिकी क्षेत्रका लिगहरूको हकमा भने चाखलाग्दो तथ्य देखिएको छ । ब्राजिलको सेरी आ युरोपबाहिरको सबैभन्दा उत्कृष्ट लिग बनेको छ जसको स्क्वाड मूल्य १.८१ अर्ब युरो पुगेको छ र यो युरोपबाहिर सबैभन्दा उच्च हो । पोर्चुगल र नेदरलान्ड्सका लिगहरू क्रमशः सातौं र आठौं स्थानमा छन् ।
यसबाहेक भारतको इन्डियन सुपर लिग भने विश्वमा अनुमानित ५०औं–५५औं स्थानमा रहेको बताइएको छ।





प्रतिक्रिया