
एजेन्सी । फ्रान्समा भएको एउटा मैत्रीपूर्ण क्लब फुटबल खेलका क्रममा पुरुष खेलाडीहरू बीचको झगडा मिलाउन खोज्दा एक महिला रेफ्री भुइँमा ढलेर उनलाई टाउकोमा चोट लागेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, शनिबार फ्रान्सेली क्लब मेट्ज र डच क्लब फोर्टुना सिटार्ड बीचको मैत्रीपूर्ण खेल सञ्चालन गरिरहेकी रेफ्री म्याथिल्डे डेमोनकाय उक्त घटनामा परेकी हुन्।
पूर्वी फ्रान्सको फोरबाचस्थित स्लोसबर्ग स्टेडियममा दुवै टोलीले नयाँ सिजनको तयारी गरिरहेका बेला भएको यस घटनापछि डेमोनकायले खेललाई निरन्तरता दिन सकिनन्।
३-१ ले खेल हारेको फोर्टुना सिटार्डले आफ्नो वेबसाइटको म्याच रिपोर्टमा यस घटनालाई एउटा “उल्लेखनीय क्षण” भनी वर्णन गरेको छ, तर यसबारे थप केही बोलेको छैन। मेट्जको वेबसाइटमा भने यस घटनाबारे कुनै रिपोर्ट उल्लेख थिएन।
खेलको ४० औं मिनेटमा दुई विपक्षी खेलाडीहरूबीच जर्सी तानातान भएपछि विवाद सुरु भएको थियो र तनाव बढेको थियो। त्यसपछि अन्य खेलाडीहरू पनि उक्त झगडामा सामेल हुन पुगे।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिए अनुसार, झगडामा बीचबचाउ गर्न खोज्दा डेमोनकायलाई ठक्कर लागेर उनी नराम्रोसँग भुइँमा पछारिएकी थिइन्। यो झगडा “रेफ्रीको सम्मान गरौँ” लेखिएको ठूलो साइनबोर्डको ठीक अगाडि भएको थियो।
रेफ्री डेमोनकाय आफ्नो हात समातेर केही मिनेटसम्म मैदानमै बसिरहिन्। त्यति नै बेला सहायक रेफ्रीहरू, सुरक्षाकर्मी र मेडिकल टोली मैदानमा प्रवेश गरी स्थिति नियन्त्रणमा लिनुका साथै उनको स्वास्थ्य जाँच गरेका थिए।
२६ वर्षीया डेमोनकायले खेल पुनः सुरु भएपछि केही समय सहायक रेफ्रीको रूपमा काम गरे पनि ‘हाफ-टाइम’ पछि मैदान छाडिन् र उनको ठाउँमा अर्का सहायकले जिम्मेवारी सम्हालेका थिए।





प्रतिक्रिया