सानिमा बैंकको नाफामा ३८% को उत्साहजनक वृद्धि, सबै सूचकमा सुधार आउँदा लाभांश क्षमता २०.८५%

994
Shares

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंक गत आवको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक बनेको छ । यसअघि ३ विकास बैंकहरू कामना सेवा र सांग्रिला, नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा २ लघुवित्तहरू फर्स्ट र आरएसडीसीले मात्र यस्तो विवरण प्रकाशन गरेका छन् ।

सोमबार सार्वजनिक विवरण अनुसार सानिमा बैंकले खुद नाफा, व्यवसाय विस्तार र लाभांश क्षमता लगायतका मुख्य सूचकहरूमा निकै उत्साहजनक सुधार गरेको छ ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

नाफामा भएको वृद्धिसँगै बैंकको लाभांश वितरण गर्ने क्षमता पनि उल्लेख्य रूपमा बढेको छ । विवरण अनुसार बैंकको कुल वितरणयोग्य नाफा २ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यस आधारमा प्रिफरेन्सियल सेयरधनीलाई दिएर बाँकी रहेको रकमबाट बैंकको प्रतिसेयर लाभांश क्षमता २०.८५ रुपैयाँ देखिएको छ, जुन अघिल्लो वर्ष १५.४८ रुपैयाँ मात्र थियो ।

बैंकको नाफा बढ्नुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको मुख्य योगदान रहेको छ । कर्जा विस्तारका कारण स्प्रेड घटेता पनि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशत भन्दा बढीले वृद्धि भई ६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंकले १६ अर्ब ६० करोड रुपैयाँ ब्याज आम्दानी गर्दा ९ अर्ब ६१ करोड रुपैयाँ ब्याज खर्च गरेको छ ।

यस अवधिमा बैंकको सेवा शुल्क र कमिसनबाट हुने आम्दानीमा राम्रो सुधार देखिएको छ । अघिल्लो आवमा १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ रहेको खुद फि एन्ड कमिसन इन्कम ११.११% ले बढेर १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

बैंकको नाफा उल्लेख्य बढ्नुको एउटा मुख्य कारण प्रोभिजनिङ रकममा आएको भारी गिरावट हो । खराब कर्जा व्यवस्थापनमा सुधार आएसँगै सम्भावित जोखिमका लागि छुट्ट्याइने रकम घटेको छ ।

असार मसान्तसम्म बैंकले १ अर्ब ७ करोड ७७ लाख रुपैयाँ प्रोभिजन गरेको छ जबकी अघिल्लो आवको असार मसान्तमा बैंकले १ अर्ब ८८ करोड ९१ लाख रुपैयाँ प्रोभिजन गरेको थियो । प्रोभिजनिङ रकममा करिब ४२.९५% ले कम हुँदा खुद नाफा बढाउन मद्दत पुगेको देखिन्छ ।

व्यवसाय विस्तारसँगै बैंकको सञ्चालन खर्चमा पनि केही वृद्धि भएको छ । कर्मचारी खर्च १३ प्रतिशतले बढेर २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको छ । अन्य सञ्चालन खर्च पनि ८५ करोड ८६ लाख रुपैयाँ छ ।

यसबीचमा बैंकले ट्रेडिङ र अन्य स्रोतबाट हुने आम्दानीमा पनि उल्लेख्य प्रगति गरेको छ । खुद ट्रेडिङ आम्दानी ४६.७३% ले बढेर ८७ करोड ६ लाख रुपैयाँ पुगेको छ । भने अन्य सञ्चालन आम्दानी पनि बढेर ५४ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बैंकको व्यवसायबाट हुने कुल सञ्चालन आम्दानी ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँ पुग्दा खर्चहरू कटाएर बैंकको मुख्य बैंकिङ व्यवसायबाट भएको नाफा ५ अर्ब १६ करोड ५१ लाख रुपैयाँ छ भने करअघिको नाफा ५ अर्ब ३ करोड रूपैयाँ पुगेको छ जुन अघिल्लो आवको सोही अवधिको भन्दा १ अर्ब ४७ करोड रूपैयाँ बढी हो ।

बैंकले यस अवधिमा १ अर्ब ५३ करोड रुपैयाँ आयकर व्यवस्था गरेको छ ।

बैंकले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको कोषको लागत ४.७० प्रतिशतबाट घटेर ३.५१ प्रतिशतमा झरेको छ भने आधार दर ६.१२ प्रतिशतबाट घटेर ४.९१ प्रतिशत कायम भएको छ । लागत घट्नाले बैंकको मुनाफामा प्रत्यक्ष सकारात्मक असर पारेको देखिन्छ ।

सानिमा बैंकले व्यवसाय विस्तारमा पनि आक्रामक उपस्थिति देखाएको छ । बैंकको कुल निक्षेप १०.८४ प्रतिशतले बढेर २४९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्जा प्रवाह ११.१९ प्रतिशतले वृद्धि भई २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंकको सीडी रेसियो ८०.७७ प्रतिशत रहेको छ, जसले बैंकसँग कर्जा विस्तारका लागि पर्याप्त तरलता रहेको संकेत गर्दछ ।

निष्क्रिय कर्जा व्यवस्थापनमा पनि बैंकले सुधार गरेको छ । अघिल्लो वर्ष ३.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात घटेर २.८७ प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा त झन् १.०२ प्रतिशतमात्र छ ।

बैंकको पुँजी कोष अनुपात १३.१० प्रतिशत रहेको छ भने प्राथमिक पुँजी अनुपात १०.१७ प्रतिशत रहेको छ, जुन नियामक निकायले तोकेको सीमा भन्दा बढी र सबल स्थितिमा छ ।

नाफा बढ्दा बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १८.९४ रुपैयाँबाट बढेर २५.७५ रुपैयाँ पुगेको छ । इक्विटीमा प्रतिफल १४.३९ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने दोस्रो बजारमा अन्तिम कारोबार मूल्य ३५० रुपैयाँका आधारमा मूल्य आम्दानी अनुपात १३.५९ गुणा रहेको छ ।

समग्रमा, सानिमा बैंकले प्रतिकूल आर्थिक वातावरणका बाबजुद पनि आफ्नो व्यावसायिक वृद्धि, नाफा र सम्पत्तिको गुणस्तरमा सन्तुलन कायम गर्दै सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिन सक्ने बलियो आधार खडा गरेको छ ।