
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी नयाँ र कडा आन्तरिक निर्देशन जारी गरेको छ ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले जारी गरिएको उक्त निर्देशिकाले राज्यकोषबाट पाउने सुविधाको उच्चतम सदुपयोग गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउने लक्ष्य राखेको बताइएको छ ।
संघीय संसद्का सदस्यहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने हालैको सरकारी व्यवस्थापछि रास्वपाले आफ्ना सांसदहरूका लागि यो छुट्टै मापदण्ड ल्याएको हो ।
निर्देशिकाको सबैभन्दा महत्त्वपूर्ण पक्ष नातावाद र परिवारवादको पूर्ण निषेध हो । अब रास्वपाका सांसदहरूले स्वकीय सचिव नियुक्ति गर्दा आफ्ना एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई राख्न पाउने छैनन् ।
नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन अनिवार्य रूपमा सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधि अपनाउनुपर्ने व्यवस्था गरिएको छ। उम्मेदवारको शैक्षिक योग्यता न्यूनतम स्नातक तह हुनुपर्ने र निज कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारीमा नरहेको तथा स्वार्थ नबाझिएको हुनुपर्ने अनिवार्य सर्त राखिएको छ ।
पार्टीले समावेशितालाई समेत प्राथमिकतामा राख्दै योग्यता पुगेका महिला, सीमान्तकृत र पछाडि पारिएका समुदायका उम्मेदवारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । स्वकीय सचिवको छनोट सांसद स्वयंले गरे तापनि नियुक्तिका लागि संसदीय दलबाट अनिवार्य अन्तिम स्वीकृति लिनुपर्नेछ । यदि नियुक्तिको सम्बन्धमा कुनै विवाद वा उजुरी आएमा त्यसको छानबिन गरी निर्णय गर्ने अन्तिम अधिकार पार्टीमा निहित रहने निर्देशिकामा उल्लेख छ ।
आर्थिक पारदर्शिताका हकमा रास्वपाले शून्य सहनशीलताको नीति अपनाएको छ । स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि बहानामा रकम कट्टा गर्न वा हिनामिना गर्न पूर्णतः निषेध गरिएको छ । पारिश्रमिक सिधै सम्बन्धित कर्मचारीको बैंक खातामा जाने सुनिश्चितता गर्नुपर्ने र यसमा कुनै अनियमितता पाइएमा गम्भीर अनुशासनको कारबाही गरिने चेतावनी दिइएको छ । साथै, नियुक्त सचिवहरूको व्यक्तिगत विवरण र शैक्षिक प्रमाणपत्र संसद् सचिवालयका साथै पार्टीको केन्द्रीय कार्यालयमा समेत दर्ता गराउनुपर्नेछ ।
सांसदको कामलाई प्रभावकारी बनाउन स्वकीय सचिवहरूको कार्यसम्पादनको नियमित मूल्याङ्कन गरी आवधिक प्रतिवेदन संसदीय दलमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ । पदीय गोपनीयता र उच्च नैतिक आचरण कायम राख्न निर्देशन दिँदै रास्वपाले नक्कली सचिव खडा गर्ने वा नातेदार नियुक्त गर्ने जस्ता कार्य गरेमा केन्द्रीय अनुशासन समिति मार्फत तत्काल कारबाही गरिने स्पष्ट पारेको छ। संसदीय दलले चाँडै नै स्वकीय सचिवको दरखास्त आह्वानका लागि एउटा साझा र आधिकारिक विज्ञापन ढाँचा तयार गरी कार्यान्वयनमा ल्याउने महामन्त्री आचार्यले जानकारी दिएका हुन् ।







प्रतिक्रिया