
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँ २५ हजारसम्म सटही गर्न सक्ने व्यवस्था गरेको छ । भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ (आरबीआई) ले जारी गरेको विदेशी विनिमय सम्बन्धी नीतिमा नै २०० र ५०० रुपैयाँ दरका भारतीय मुद्रा २५ हजारसम्म नगद लिएर नेपाल आउन वा जान पाउने व्यवस्था गरेको हो ।
आरबीआईले उक्त व्यवस्था गरेसँगै नेपाल राष्ट्र बैंकले पनि प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म २०० र ५०० रुपैयाँ दरका भारु सटही गर्न सक्ने व्यवस्था गरेको हो । भारतीय नागरिक नेपाल भ्रमणमा आउँदा २५ हजार रुपैयाँसम्म २०० र ५०० दरका भारु नगद बोकेर आउने व्यवस्था यसअघि नै भएको थियो ।
नेपाल सरकारले २०८२ पुस २८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै २०० र ५०० दरका भारु २५ हजारसम्म नगद ल्याउन पाउने व्यवस्था गरिसकेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल बताउँछन् ।
अहिले भारतको केन्द्रीय बैंकले २५ हजारसम्म २०० र ५०० दरका भारु ल्याउन र लैजान पाउने व्यवस्था गरेको तथा त्यस्तो रकम बैंकहरूले नेपाल राष्ट्र बैंकमा जम्मा गर्न सक्ने र राष्ट्र बैंकलाई आरबीआईले समेत स्वीकृति दिएसँगै उक्त व्यवस्था गरिएको उनले बताए ।
‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भा.रु. २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० को सीमासम्म प्रचलित व्यवस्था बमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ,’ राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै भनेको छ ।
नेपाल भ्रमणमा आउने भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म मात्रै २०० र ५०० दरका भारु नगद ल्याउन पाउनेछन् । सोही अनुसार नगद सटही सुविधा उपलब्ध हुनेछ ।
विदेशी विनिमय सटहीको इजाजत लिएका जुनसुकै स्थानमा पनि सटही गर्न सकिने र त्यसरी सटही भएको रकम बैंकमा जम्मा गर्नुपर्ने हुन्छ । विदेशी मुद्रा सटहीको अनुमति लिएका बाहेकका स्थान वा व्यावसायिक प्रतिष्ठानमा भने २०० र ५०० दरका भारु साट्न पाइने छैन ।
यसले नेपाल भ्रमणमा आउने भारतीयहरूलाई सहज हुनेछ । १०० रुपैयाँसम्मका भारु भने अन्य मुद्रा सरह ५ हजार अमेरिकी डलरसम्म हुने गरी नगद बोकेर आउन समस्या नहुने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए ।
नेपाल भ्रमणमा आउने विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने छैन । तर, ५ हजार डलरभन्दा बढी नगद ल्याउनुपर्ने अवस्थामा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी सोको प्रमाणीकरण गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
नेपाली नागरिकले भारतबाहेक अन्य तेस्रो मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन भने पाउने छैनन् ।





प्रतिक्रिया