
एजेन्सी । भारतका प्रख्यात समाजसेवी अन्ना हजारेले दिल्लीका विद्यार्थीहरूको समर्थनमा अहिल्यानगरमा मौन विरोध प्रदर्शन सुरु गरेका छन् ।
हजारेले दिल्लीमा परीक्षामा भएको भनिएको अनियमिततालाई लिएर विरोध गरिरहेका विद्यार्थीहरूको समर्थनमा बिहीबार महाराष्ट्रको अहिल्यानगरमा मौन आन्दोलन सुरु गरेका हुन् । हजारेको यो विरोध प्रदर्शन कक्रोच जनता पार्टी (सीजेपी) को जारी विरोधका बीच भइरहेको छ । त्यसले परीक्षाको प्रश्नपत्र चुहावटको आरोपमा जवाफदेहिता र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेको छ ।
अन्ना हजारेले एक दिनअघि प्रधानमन्त्री मोदीलाई पत्र लेख्दै सरकारले समाधान निकाल्नुपर्ने बताएका थिए । उनले एक मन्त्रीको राजीनामाले सरकार ढल्दैन भनेर पनि भनेका थिए । उनको संकेत शिक्षामन्त्री धर्मेन्द्र प्रधानतर्फ थियो ।
समाजसेवी अन्ना हजारेले यसअघि पनि विद्यार्थी आन्दोलनको समर्थन गरेका थिए । उनले सरकारलाई प्रतिस्पर्धात्मक परीक्षाहरूमा भएको भनिएको अनियमिततासँग सम्बन्धित चिन्ताहरूलाई सम्बोधन गर्न र शिक्षा प्रणालीमा जनताको विश्वास पुनः स्थापित गर्न आग्रह गरेका थिए ।
विगत केही दिनदेखि दिल्लीमा विरोध प्रदर्शन तीव्र भएको छ र सीजेपीको संसद् चलो मार्चका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको थियो । दिल्ली प्रहरीले प्रदर्शनकारीहरूले हिंसा र ढुंगामुढा गरेको बताएको छ भने सीजेपीले सुरक्षाकर्मीहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध अत्यधिक बल प्रयोग गरेको आरोप लगाएको छ ।
राष्ट्रिय राजधानीमा सुरक्षा व्यवस्था कडा पारिए तापनि विरोध प्रदर्शन जारी छ ।





प्रतिक्रिया