काठमाडौं । सरकारले हरेक दिन एक जनालाई लखपति बनाउने घोषणा त गर्यो, तर कसरी पाइन्छ १ लाख पुरस्कार ?
हरेक दिन एक जना नेपाली नागरिकलाई एक लाख र महिनामा दुई जनालाई १०–१० लाख रुपैयाँ उपहार दिने सरकारको योजनामा कसरी सहभागी हुने भन्नेबारे यस भिडियोमा हामी तपाईंलाई विस्तृत जानकारी दिँदैछौं ।
सरकारको यस कार्यक्रममा तपाईं नेपालको जुनसुकै कुनामा बसेर पनि भाग लिन सक्नुहुन्छ । यसका लागि १०० रुपैयाँभन्दा बढीको कुनै पनि सामान खरिद गरेको वा कुनै वस्तु वा सेवा उपभोग गरेको हुनुपर्नेछ ।
अर्थात्, होटल वा रेस्टुरेन्टमा १०० रुपैयाँभन्दा बढीको बिल भुक्तानी गरेको हुनुपर्छ । तर याद गर्नुहोस्, त्यो बिल मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएको सक्कली बिल हुनुपर्छ । भ्याटमा दर्ता भएका वा प्यान लिएका विक्रेताबाट खरिद गरिएको सामानको बिलमार्फत मात्र यस उपहार कार्यक्रममा सहभागी हुन पाइनेछ ।
त्यसैले अब आफूले १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटल/रेस्टुरेन्टमा भुक्तानी गर्दा अनिवार्य रूपमा सक्कली बिल लिनुहोस्, किनभने त्यही बिल नम्बरले तपाईंलाई लखपति बनाउन सक्छ ।
बिल लिएपछि के गर्ने?
यदि सामान खरिद गर्दा वा होटल/रेस्टुरेन्टमा पैसा तिर्दा तपाईंले अनलाइन भुक्तानी (क्युआर कोड, कार्ड वा अन्य विद्युतीय माध्यम) गर्नुभएको छ भने तपाईं यस कार्यक्रममा स्वतः सहभागी हुनुहुनेछ । यसका लागि अन्य कुनै प्रक्रिया पूरा गर्नु पर्दैन, बिल लिए पुग्छ । तर, क्युआरमार्फत पैसा तिर्दा त्यो ‘मर्चेन्ट’ अर्थात् व्यावसायिक क्युआर हुनुपर्छ । यस्तो भुक्तानी फोन–पे, नेपाल क्लियरिङ हाउस वा स्मार्ट च्वाइस टेक्नोलोजी जस्ता नेटवर्कमार्फत हुने गर्दछ । यसरी गरिएको मर्चेन्ट भुक्तानीको रेकर्ड भुक्तानी सेवा प्रदायकसँग हुन्छ र सो डाटा उनीहरूले आन्तरिक राजस्व विभागलाई पठाउँछन् ।
त्यसपछि आन्तरिक राजस्व विभागले १०० रुपैयाँभन्दा माथिको क्युआर कारोबारमा तोकिएको मापदण्ड पूरा भएका कारोबारहरूको ‘ट्रान्जेक्सन आइडी’ का आधारमा ‘लट्री टिकेट नम्बर’ जेनेरेट गरिदिन्छ । सोही टिकट नम्बर लक्की ड्रमा समावेश हुन्छ । उक्त टिकट नम्बर सम्बन्धित बैंक वा वालेट कम्पनीको एपमा समेत देखिने व्यवस्था गरिनेछ ।
नगद भुक्तानी गर्दा के गर्ने?
यदि तपाईंले नगद भुक्तानी गरेर बिल लिनुभएको छ भने यसका केही प्रक्रियाहरू छन् । यसका लागि आन्तरिक राजस्व विभागले तोकेको मोबाइल एप वा वेब पोर्टलमा बिलको विवरण (बिल नम्बर, प्यान नम्बर, मिति र रकम) प्रविष्ट गर्नुपर्नेछ । नगद भुक्तानी गर्ने ग्राहकहरूलाई सहभागी गराउन विभागले छुट्टै वेबसाइट बनाइरहेको छ । कसैले नक्कली बिल पेस गर्न सक्ने जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे पनि विभागले छलफल गरिरहेको छ ।
कहिलेदेखि लागू हुन्छ र पुरस्कार कति छ?
यो योजना आन्तरिक राजस्व विभागले साउन १६ गतेबाट लागू गर्ने तयारी गरेको छ । तर, यो कार्यक्रम विभाग आफैंले सञ्चालन गर्ने कि अन्य कुनै संस्थालाई जिम्मा दिने भन्ने टुङ्गो लाग्न बाँकी रहेको अधिकारीहरू बताउँछन् ।
साउन १६ देखि लागू भएमा, नियमित उपहारअन्तर्गत प्रत्येक दिन छानिने विजेताले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक १५ दिनमा छानिने एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ ‘बम्पर उपहार’ प्राप्त गर्नेछन् । पुरस्कारको रकमबाट २५ प्रतिशत आकस्मिक लाभ कर कट्टी गरी बाँकी रकम मात्र भुक्तानी गरिनेछ ।
को–को सहभागी हुन पाउँछन्?
यो कार्यक्रममा नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि सामान वा सेवा खरिद गर्ने प्राकृतिक व्यक्ति (उपभोक्ता) मात्र सहभागी हुन पाउनेछन् । व्यावसायिक प्रयोजनका लागि लिइएका बिल, सरकारी वा सार्वजनिक संस्थाले जारी गरेका बिल, टेलिफोन, इन्टरनेट, बिजुलीको महसुल र हवाई टिकटका बिलहरू यसमा मान्य हुने छैनन् । साथै, प्यान नम्बर नभएका पसलबाट लिएका बिल पनि मान्य हुने छैनन् ।
विजेताको जानकारी र पुरस्कार दाबी
कसले जित्यो भन्नेबारे विभागले विजेतालाई मोबाइलमा एसएमएस वा इमेलमार्फत जानकारी दिनेछ । यसका साथै विभागको वेबसाइट र सामाजिक सञ्जालमा पनि नाम सार्वजनिक गरिनेछ ।
विजेता घोषित व्यक्तिले १५ दिनभित्र नजिकैको आन्तरिक राजस्व कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्नेछ । निवेदनका साथमा सक्कल बिल, नागरिकता वा परिचयपत्रको प्रतिलिपि, बैंक खाताको विवरण र प्यान नम्बर पेस गर्नुपर्छ । प्रक्रिया पुगेका विजेताको बैंक खातामा विभागले १० दिनभित्र सिधै रकम जम्मा गरिदिनेछ । यदि कसैले तोकिएको समयभित्र उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
आर्थिक कारोबारलाई पारदर्शी बनाउन, बिल लिने संस्कृतिको विकास गर्न र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सरकारले यो आकर्षक नगद उपहारको योजना अघि सारेको हो ।





प्रतिक्रिया