
एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार वार्षिक रक्षा नीति विधेयक झिनो मतले पारित गरेको छ । त्यसले पेन्टागनका लागि रेकर्ड ११.५ खर्ब डलर कोष अधिकार दिनेछ ।
परम्परागत रूपमा यसले महत्त्वपूर्ण द्विदलीय समर्थन पाउने गरेको भए तापनि सन् २०२७ को राष्ट्रिय रक्षा अधिकार ऐन (एनडीएए) तल्लो सदनबाट २१६–२१२ को मतले पारित भयो जुन राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा बढ्दो ध्रुवीकरणको संकेत हो ।
यस विधेयकलाई अझै पनि सिनेटले पारित गर्न बाँकी छ । यसले सन् २०२६ को एनडीएएभन्दा करिब २५० अर्ब डलर बढी रकम प्रदान गर्छ जसमा सैनिक कर्मचारीहरूका लागि ५–७ प्रतिशत तलब वृद्धिको व्यवस्था पनि समावेश छ ।
‘यस कानूनले हाम्रा साहसी सैनिकहरूलाई लामो समयदेखि रोकिएको तलब वृद्धि प्रदान गर्छ, हाम्रो आणविक प्रतिरोध र मिसाइल रक्षालाई सुदृढ बनाउँछ जसमा गोल्डन डोमको निर्माण पनि समावेश छ,’ सदनका सभामुख माइक जोनसनले भने ।
ट्रम्पले इजरायलको आइरन डोमको ढाँचामा अमेरिकी मुख्यभूमिको रक्षा गर्नका लागि तथाकथित गोल्डन डोम मिसाइल रक्षा प्रणाली विकास गर्न खोजेका छन् ।
हाउस आर्म्ड सर्भिस कमिटीका रिपब्लिकनहरूले एक विज्ञप्ति जारी गर्दै यस विधेयकले रित्तिएका भण्डारहरू पुनः भर्न मद्दत गर्नेछ किनकि अमेरिकाले इरानविरुद्धको युद्धमा ठूलो मात्रामा क्षेप्यास्त्रहरू खर्च गरिरहेको छ ।
अर्कोतर्फ, डेमोक्रेटिक प्रतिनिधि जेरी नाडलरले ट्रम्प र रक्षामन्त्री पिट हेगसेथलाई उनीहरूको अनियन्त्रित सैन्य खर्च र गैरजिम्मेवार कार्यका लागि ११.५ खर्ब डलर दिनका लागि मतदान गर्न नसक्ने बताए ।
‘एनडीएए एउटा महँगो र खराब विधेयक हो जसले अवैध युद्धलाई कोष प्रदान गर्छ र हाम्रो लोकतन्त्रलाई कमजोर बनाउँछ,’ उनले भने ।
ट्रम्पको बहुप्रतीक्षित सेभ अमेरिका एक्टले देशव्यापी नयाँ मतदान प्रतिबन्धहरू लागू गर्नेछ । त्यसलाई प्रक्रियागत चालबाजी मार्फत एनडीएएमा थपिएको थियो । त्यसले डेमोक्रेटहरूलाई आक्रोशित बनाएको छ र सिनेटमा विधेयक पारित हुने कुरालाई थप जटिल बनाएको छ ।
हालैका हप्ताहरूमा एनडीएएको अर्को खण्डका बारेमा पनि विवाद चुलिएको छ । त्यसले अमेरिका र इजरायली सशस्त्र बलहरूबीच बढ्दो सहयोगको आह्वान गर्छ ।





प्रतिक्रिया