
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नयाँ दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेको उच्चस्तरीय भेटवार्ताले कूटनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।
सरकार गठन भएको सय दिन पुगेलगत्तै प्रधानमन्त्री शाहले असारको मध्यतिर आफ्ना प्रमुख सल्लाहकारलाई दूतका रूपमा भारत पठाएर द्विपक्षीय सम्बन्ध सुधार र सम्भावित भारत भ्रमणको कसरत गरेको खुल्न आएको छ ।
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएको तीन सातापछि बेन भारत भ्रमण गरि फर्किएको स्रोतको भनाइ छ ।
‘असार मध्यतिरै हो उहाँ जानुभएको,’ स्रोतले भन्यो, ‘ अहिले आएर यो धेरै उचाल्नु पर्ने विषय होइन ।’
तर, यो सम्पूर्ण भ्रमण प्रक्रियामा मुलुकको औपचारिक कूटनीतिक च्यानल र परराष्ट्र मन्त्रालयलाई पूर्ण रूपमा ‘बाइपास’ गरिएका कारण यसले नेपालको स्थापित कूटनीतिक मूल्यमान्यता, संस्थागत मर्यादा र संवैधानिक प्रणालीमाथि गम्भीर प्रश्न उठाएको विश्लेषण भइरहेको छ ।
सुरक्षा मामिलाविद् तथा पूर्व सांसद दीपक प्रकाश भट्ट कुमार बेनको यो भ्रमणबाट कूटनीतिक मर्यादाको उल्लंघन भएको बताउँछन् । ‘यो सरासर कूटनीतिक मान्यताको उल्लंघन हो र यसले त सरकारको फङ्सनिङमा नै प्रश्नचिह्न उठाएको छ,’ उनले क्लिकमान्डुलाई बताए ।
कुनै पनि सार्वभौम राष्ट्रको सरकार प्रमुखको विदेश भ्रमण वा छिमेकी देशसँगको उच्चस्तरीय कूटनीतिक सम्बन्ध सञ्चालन गर्ने आधिकारिक जिम्मेवारी परराष्ट्र मन्त्रालयको हो । प्रधानमन्त्री वा सरकारको तर्फबाट हुने यस्ता उच्चस्तरीय संवादहरू औपचारिक च्यानल अर्थात् परराष्ट्र मन्त्रालय, राजदूतावासहरू र विज्ञ कूटनीतिज्ञहरू मार्फत हुनुपर्छ ।
तर, प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार बेनको दिल्ली भ्रमण र सुरक्षा सल्लाहकार डोभालसँगको भेटमा परराष्ट्र मन्त्रालयलाई पूर्ण रूपमा अन्धकारमा राखिएको देखिन्छ ।
परराष्ट्र मामिलाविद् अरुण कुमार सुवेदी भने यसलाई त्यस दृष्टिकोणबाट हेर्न नहुने बताउँछन् । ‘परराष्ट्रमन्त्री पनि प्रधानमन्त्री मातहत नै हुन्छन् र उनलाई संज्ञानमा नलिइकन यो भ्रमण भयो होला भन्ने मलाई लाग्दैन । यस विषयलाई धेरै उचाल्नुपर्ने म कारण देख्दिनँ,’ उनले भने ।
दुवै देशका सरकारबाट यस विषयमा औपचारिक नोट नआउन्जेल आधिकारिक टिप्पणी वाञ्छनीय नहुने पनि उनले थपे ।
असार मध्यतिर प्रधानमन्त्री शाहका प्रमुख सल्लाहकार कुमार बेन आफूनिकट रोशन खड्कालाई साथमा लिएर सुटुक्क नयाँ दिल्ली पुगेको स्रोतको भनाइ छ । उनीहरूले भारतको सुरक्षातन्त्रका सबैभन्दा शक्तिशाली तथा प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
यस भेटको मुख्य उद्देश्य प्रधानमन्त्री बालेन शाहको सम्भावित भारत भ्रमणको वातावरण तयार पार्नु र बालेन सरकारको छिमेक नीति तथा प्राथमिकताहरूबारे भारतीय पक्षलाई ब्रिफिङ गर्नु थियो ।
यसअघि रास्वपा सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले गरेको भारत भ्रमण र काठमाडौंस्थित भारतीय कूटनीतिक नियोगसँगको केही चिसिएको सम्बन्धलाई सुधार गर्दै प्रधानमन्त्री शाहलाई सकेसम्म चाँडो दिल्ली भ्रमण गराउने विषयमा डोभाल र बेनबीच गम्भीर संवाद भएको बताइएको छ ।
दिल्लीबाट फर्किएपछि बेनले प्रधानमन्त्री शाह र सभापति लामिछानेसँग भेट गरी छलफलको निष्कर्षबारे विस्तृत रिपोर्टिङसमेत गरिसकेको बताइएको छ ।
परराष्ट्र मन्त्रालय वा नेपाल सरकारको कुनै पनि औपचारिक रेकर्डमा नरहने गरी गरिएको यस ‘गोप्य’ संवादले कूटनीतिक अभ्यासमा गम्भीर विचलन ल्याएको नाम नखुलाउने शर्तमा एक टिप्पणीकारले बताए । नेपालमा परराष्ट्र मन्त्रालय जस्तो स्थापित संस्थालाई छलेर प्रधानमन्त्री वा तिनका व्यक्तिगत सल्लाहकारहरूले ‘ब्याक च्यानल’ कूटनीतिको अभ्यास गर्नु संस्थागत सुशासनको उपहास भएको उनको भनाइ छ । यसले परराष्ट्र मन्त्रालयको मनोबल गिराउने मात्रै नभई राज्यका औपचारिक निकायहरूलाई निकम्मा बनाउँदै लैजाने उनी बताउँछन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालजस्ता कूटनीतिक रूपमा अत्यन्तै संवेदनशील र निर्णायक व्यक्तित्वसँग भएको भेटमा नेपालको परराष्ट्र मन्त्रालयको तर्फबाट कोही पनि प्रतिनिधि उपस्थित नहुँदा दुई देशका उच्च अधिकारीबीच के कुराकानी भए भन्ने कुराको कुनै आधिकारिक अभिलेख नेपाल सरकारसँग रहँदैन । लोकतान्त्रिक शासन व्यवस्थामा परराष्ट्र नीति र छिमेकीसँगको सम्बन्ध पारदर्शी हुनुपर्ने विश्लेषकहरूको टिप्पणी छ ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेलगत्तै विदेशी राजदूत वा कूटनीतिज्ञहरूसँग एक्लाएक्लै भेटवार्ता नगर्ने र अघिल्ला सरकारले जस्तो विदेशी हस्तक्षेपलाई प्रश्रय नदिने कूटनीतिक दूरीको नीति अघि सार्दै आएका थिए । तर, व्यवहारमा आफ्नै प्रमुख सल्लाहकारलाई मन्त्रालयको जानकारीबिना सुटुक्क दिल्ली पठाएर उच्चस्तरीय भेट गराउनुले उनको भनाइ र गराइमा ठूलो विरोधाभास देखाएको विज्ञहरू बताउँछन् ।





प्रतिक्रिया