
एजेन्सी । अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार ट्रम्प प्रशासनले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडलहरू अमेरिकी मोडलहरूबाट डिस्टिलेसन विधिमार्फत नक्कल गरिएका हुन् वा होइनन् भन्नेबारे अनुसन्धान गर्ने बताएका छन् ।
फक्स बिजनेससँग कुरा गर्दै बेसेन्टले सरकारले बौद्धिक सम्पत्ति चोरीलाई नसहने र चिनियाँ मोडलहरूले अमेरिकी कम्पनीहरूबाट तथ्यांक चोरेको पाइएमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । डिस्टिलेसन एउटा यस्तो एआई तालिम पद्धति हो जहाँ शक्तिशाली मोडलको नतिजा प्रयोग गरेर सानो र कम क्षमताको मोडल निर्माण गरिन्छ ।
हालका दिनमा ओपनएआई र एन्थ्रोपिक जस्ता प्रमुख अमेरिकी कम्पनीका उत्पादनहरूलाई चिनियाँ ओपन–वेट मोडलहरूले कडा चुनौती दिन थालेपछि अमेरिकी अधिकारीहरू चिन्तित बनेका छन् । विशेषगरी चिनियाँ स्टार्टअप मुनशट एआईको किमी के३ मोडलले केही क्षेत्रमा अमेरिकी कम्पनीहरूलाई समेत उछिनेको छ ।
बेसेन्टले धेरै चिनियाँ मोडलहरूमा अमेरिकी लार्ज ल्यांग्वेज मोडलका वाटरमार्कहरू भेटिएको दाबी गर्दै यो स्वीकार्य नहुने बताएका छन् । आगामी सेप्टेम्बरमा अमेरिका र चीनबीच एआईका विषयमा हुने वार्तामा बेसेन्टले नै अमेरिकाको प्रतिनिधित्व गर्दै यो विषय उठाउने अपेक्षा गरिएको छ ।
एन्थ्रोपिक र ओपनएआई स्वयंले पनि विगतमा प्रतिलिपि अधिकार उल्लंघन र अवैध रूपमा तथ्यांक प्रयोग गरेको आरोपमा विभिन्न मुद्दाहरूको सामना गरिरहेका छन् ।





प्रतिक्रिया