नेपाल फर्कन लागेको देउवाको भनाई, ‘तर सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्नसक्छ’

84
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति सुरु गरेको र राज्यशक्तिको दुरुपयोग गरेर लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार गर्न खोजेको गम्भीर आरोप लगाएका छन् । बिपी कोइरालाको स्मृति दिवसको अवसरमा विदेशबाट एक विशेष वक्तव्य जारी गर्दै सभापति देउवाले यस्तो धारणा राखेका हुन् । केही महिनादेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा रहनुभएका देउवाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् ।

देउवाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सरकारले स्वतन्त्र न्यायपालिका, संवैधानिक संस्थाहरू र लोकतान्त्रिक प्रणालीमाथि नै दबाब सिर्जना गर्ने संकेत देखिन थालेका छन् । न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित गर्ने औजार बनाउन खोजिँदै छ ।’ यस्तो परिस्थितिमा कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि थप जिम्मेवार भएर उभिनुपर्ने उनको भनाइ छ ।

देउवाले मुलुकमा फरक विचारप्रति असहिष्णुता बढेको र भौतिक तथा मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति देखिएको दाबी गरे । ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध होइन, सहकार्य चाहिएको छ,’ देउवाले वक्तव्यमा उल्लेख गरेका छन् ।

बिपी कोइरालाको मेलमिलापको नीतिलाई स्मरण गर्दै देउवाले अहिले पनि राष्ट्रिय मेलमिलाप र संवादको सान्दर्भिकता झन् बढेको बताए । साथै, गत फागुनमा सम्पन्न निर्वाचनमार्फत जनताले, विशेषगरी युवा पुस्ताले दिएको नयाँ जनदेशलाई कांग्रेसले सम्मान गर्ने र लोकतन्त्र सुदृढीकरणका लागि रचनात्मक सहयोग गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याए ।

आफ्नो ६ दशक लामो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले आफू छिट्टै स्वदेश फर्कन लागेको जानकारी दिएका छन् । उनले लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति आफ्नो निष्ठा अटल रहेको भन्दै सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज र युवा पुस्तालाई लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरे ।

स्वास्थ्य उपचारका लागि विदेशमा रहेका देउवाले बिपी स्मृति दिवसकै अवसर पारेर यो राजनीतिक सन्देश दिएका हुन् ।