विश्वकप विजेता स्पेन: एक दशकसम्म दबदबा कायम गर्न तयार

35
Shares

एजेन्सी । उनाई सिमोनले २०२६ विश्वकपमा आठ खेलमा सात पटक ‘क्लिन सिट’ (कुनै गोल नखाई) राख्दै ‘गोल्डेन ग्लोभ’ जिते- यो एक साँच्चै ऐतिहासिक उपलब्धि हो । तर तैपनि, स्पेनको सफलतामा गोलकिपरले विशेष महत्त्वपूर्ण भूमिका खेलेको थियो भन्न गाह्रो छ, किनकि उनले मैदानमा खासै केही गर्नै परेन ।

इंग्ल्याण्डका पूर्व नम्बर १ जो हार्टले बीबीसीमा टिप्पणी गरे झैं, ‘कसैले पनि स्पेनलाई चुनौती दिन सकेनन्। पुरै प्रतियोगिताभरि उनीहरूविरुद्ध मात्र १० वटा सटहरू टार्गेटमा थिए । स्पेनसँग खेल्ने यस्तो तरिका छ जसको नजिक संसारको कुनै पनि टोली पुग्न सकेको छैन।’ र यसमा असहमत हुन असम्भव छ ।

स्पेनले विश्वकपमा धेरै आकर्षक खेल नदेखाएको हुन सक्छ, तर उनीहरूलाई रोक्न असम्भव थियो। केही विपक्षीहरूले लुइस डे ला फुएन्टेको टोलीलाई निराश पार्न सफल भए पनि, कसैले पनि उनीहरूलाई कसरी चोट पुर्‍याउने भन्ने कुरा पत्ता लगाउन सकेनन् । दुई वर्षअघि जर्मनीमा जितेको युरोपेली उपाधिमा अहिले विश्व उपाधि थपेपछि अब प्रश्न उठ्छ-यो स्पेनको टोलीले आगामी वर्षहरूमा अझै कति ट्रफीहरू जित्ला ?

‘उत्कृष्ट घडीको संयन्त्र जस्तै’

स्पेनले समूह चरणमा खासै राम्रो खेल्न सकेन। केप भर्डसँगको पहिलो खेल बराबरी हुनुको आंशिक कारण लेमिन यामल अन्तिम १५ मिनेट मात्र खेल्न फिट हुनु थियो। तर दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध उनी सुरुवाती टिममा फर्किएपछि स्पेनले ४-० को सानदार जित निकाल्यो।

उरुग्वेविरुद्धको १-० को जितमा यामलले ७६ मिनेट खेलेर समूह ‘एच’ को शीर्ष स्थान सुरक्षित गरे पनि, स्पेन २०२४ को युरो कप जित्ने टोली जस्तो देखिएको थिएन। यामल र निको विलियम्स दुवै ‘ह्यामस्ट्रिङ’ समस्याले ग्रसित थिए भने पेड्रीको प्रदर्शन औसत थियो।

यद्यपि, प्रशिक्षक डे ला फुएन्टे चिन्तित थिएनन्। ‘यो लामो यात्रा हो र यो यस्तो टोली हो जसले धेरै गोल खाँदैन,’ उनले लगातार तेस्रो क्लिन सिट पछि भने। ‘उनीहरू अपराजित छन्।’

राल्फ राङ्निकले पनि अस्ट्रियालाई अन्तिम ३२ को खेलमा स्पेनले ३-० ले हराएको देखेपछि यस्तै निष्कर्ष निकाले। म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षकले भने, ‘उनीहरूमा सुधार गर्नुपर्ने कुरा अब केही बाँकी छैन। उनीहरू एउटा ‘पर्फेक्ट क्लकवर्क’ (उत्कृष्ट मेसिन) जस्तै हुन्। मलाई उनीहरूले कुनै गल्ती गरेको सम्झना छैन… म भन्न सक्छु कि हामीले युरोपेली च्याम्पियन मात्र होइन, आगामी विश्व च्याम्पियनको पनि सामना गर्‍यौं।’ र राङ्निकको कुरा सही साबित भयो।

निरन्तर ‘ला रोजा’

स्पेन यस्तो समस्या बन्यो जसको समाधान कसैसँग थिएन। पोर्चुगल जस्तो टोली, जसमा भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेज जस्ता मिडफिल्डरहरू थिए, उनीहरूले पनि डलासमा भएको अन्तिम १६ को खेलमा रोड्री र उनको टोलीबाट बल खोस्न सकेनन्। फलस्वरूप, स्पेनले दबाब बढाइरह्यो र मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गर्दै जित दिलाए।

क्वार्टरफाइनलमा बेल्जियम विरुद्ध पनि उनले ८८औं मिनेटमा गोल गरे। पाउ कुबार्सीको गल्तीका कारण चार्ल्स डे केटेलेयरले गोल गर्दै स्पेनको रक्षापंक्ति तोडेका थिए, तर त्यसले उनलाई विचलित पारेन। अन्ततः मेरिनोकै गोलले स्पेन सेमिफाइनलमा पुग्यो, जहाँ उनीहरूको सबैभन्दा कठिन परीक्षा हुने मानिएको थियो। तर, फ्रान्सको खतरनाक अग्रपंक्तिलाई उनीहरूले सजिलै निस्तेज पारिदिए।

‘के गर्नुपर्छ भन्ने थाहा छ’

डलासमा स्पेनको प्रभुत्व देखेर धेरै अचम्ममा परे-तर फ्रान्सका पूर्व स्ट्राइकर थियरी हेनरी भने थिएनन्।

फक्स स्पोर्ट्समा हेनरीले भने, ‘मैले खेलाडी र प्रशिक्षक दुवैको रूपमा स्पेनको सामना गरेको छु। बार्सिलोनामा खेल्दा मैले बुझेको थिएँ कि बल चल्नुपर्छ। सबैले आफ्नो पोजिसनमा बस्नुपर्छ र टोलीका साथीहरूलाई विश्वास गर्नुपर्छ। यो सुन्दा सजिलो लाग्छ, तर होइन। उनीहरूले फ्रान्सका खेलाडीहरू नभएझैं बल पास गरिरहे। जोसुकै खेलाडी आए पनि उनीहरूलाई ९ वर्षको उमेरदेखि नै के गर्ने भन्ने थाहा हुन्छ। यो उनीहरूको दर्शन र पहिचान हो।’

‘विश्वको सर्वश्रेष्ठ फुटबल राष्ट्र’

लियोनेल स्कालोनीले फाइनलमा स्पेनलाई रोक्न धेरै सोचेका थिए, तर उनको उत्कृष्ट योजना भनेको स्पेनका खेलाडीलाई हरदम फाउल गर्नु मात्रै देखियो। ज्लाटान इब्राहिमोविचले अर्जेन्टिनाको त्यो आक्रोश र निराशालाई बुझ्न सक्ने बताए।
‘एक खेलाडीको रूपमा, यदि मैले बलुन छुन पाइनँ र विपक्षीले मात्र बल राखिरह्यो भने म पागल हुन्छु, धैर्य गुमाउँछु र उनीहरूलाई लात्ताले हिर्काउन मन लाग्छ,’ इब्राहिमोविचले भने। ‘उनीहरू विश्वको सर्वश्रेष्ठ फुटबल राष्ट्र हुन्।’
र यो अवस्था चाँडै परिवर्तन हुने देखिँदैन।

शानदार डे ला फुएन्टे

पाँच पटकको च्याम्पियन ब्राजिल अझै कार्लो एन्सेलोट्टीको नेतृत्वमा अलमल्ल छ, इंग्ल्याण्डको गुणस्तर र थोमस टुचेलको रणनीतिमा प्रश्नहरू छन्, अर्जेन्टिनाले दुई ‘लियोनेल’ (मेस्सी र स्कालोनी) लाई गुमाउन सक्छ, फ्रान्स जिनेदिन जिदानको नेतृत्वमा अघि बढ्न बाँकी छ, र जुर्गन क्लोपले जर्मनीसँग धेरै काम गर्न बाँकी छ।

यसको ठीक उल्टो, स्पेन डे ला फुएन्टेको नेतृत्वमा स्थिर छ। सुरुमा उनीमाथि धेरै शंका गरिएको थियो, किनकि उनले सिनियर स्तरमा कुनै ठूला उपाधि जितेका थिएनन्। तर यु-१९ र यु-२१ स्तरमा सफल भएका तिनै विधिहरू प्रयोग गरेर उनले स्पेनलाई २०१० पछि पहिलो पटक विश्वकप जिताए। १९ वर्षका कुबार्सी र यामल अर्को विश्वकपसम्म कति राम्रा होलान्, कल्पना गर्नुहोस्!

‘आशा मारिदिने टोली’

तर, व्यक्तिगत खेलाडीमा मात्र ध्यान केन्द्रित गर्नु गलत हुनेछ। डे ला फुएन्टेले भनेझैं, स्पेनको सफलताको रहस्य ‘एकता’ हो, ‘सुपरस्टार’ होइन। यामल जस्ता खेलाडी पनि टोलीका लागि त्याग गर्न तयार छन्।

‘यामल शतप्रतिशत फिट थिएनन्, तर पनि स्पेनले हरेक खेलमा प्रभुत्व जमायो-यसले उनीहरू कति राम्रो टोली हुन् भन्ने देखाउँछ,’ इब्राहिमोविचले भने। ‘उनीहरूले कसैको आत्मा र आशा मारिदिन्छन्।’

‘भविष्यको टोली’

स्पेनको टोली अझै सन्तुष्ट छैन। ‘खेलाडीहरूले मलाई सोधे अब के जित्न बाँकी छ?’ डे ला फुएन्टेले फाइनलपछि भने। ‘हामीले तय गर्‍यौं कि अब सेप्टेम्बरमा इंग्ल्याण्डविरुद्धको नेसन्स लिगको खेल जित्नुपर्छ।’

हुआन माटाले बीबीसीलाई भने जस्तै, ‘यो वर्तमानको लागि मात्र होइन, भविष्यको लागि पनि बनेको टोली हो।’ त्यसैले, यो जित स्पेनको यात्राको अन्त्य होइन, बरु एक दशक लामो फुटबल साम्राज्य स्थापना गर्ने एउटा कदम मात्र हुन सक्छ।