‘क्रिश्चियन धर्मको प्रचारक’भएको आरोपमा हर्क साम्पाङलाई जानकी मन्दिर प्रवेशमा रोक

1.3k
Shares

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतबार जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्न पाएनन्।

हिन्दू सम्राट सेनाको चर्को विरोध र प्रदर्शनका कारण मन्दिर परिसरमा तनाव उत्पन्न भएपछि साम्पाङ दर्शन नगरी फर्किएका हुन् ।

आइतबार बिहान ११ बजे साम्पाङ समर्थकहरूका साथ मन्दिर पुग्ने तालिका थियो । तर, उनले मन्दिरमा प्रवेश गर्नुअघि नै हिन्दू सम्राट सेनाका कार्यकर्ता र साम्पाङका समर्थकहरूबीच धकेलाधकेल सुरु भएको थियो ।

साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै सम्राट सेनाले उनलाई मन्दिर प्रवेशमा रोक लगाउने पूर्वघोषणा नै गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडप र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै साम्पाङलाई मन्दिर छिर्न दिइएन।

प्रहरीले स्थिति नियन्त्रणमा लिन दुवै पक्षलाई संयमित पारेको थियो । घटनापछि साम्पाङले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै जनकपुरमा तनाव हुँदा गृहमन्त्रीको फोन ‘अफ’ रहेको भन्दै आलोचना गरेका छन् ।