
एजेन्सी । भारतीय रेलवेको हरित यातायात (ग्रीन ट्रान्सपोर्ट) अभियानमा एक ऐतिहासिक कोसेढुङ्गा थपिएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्सअफन्युजका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियाणाको जिन्ददेखि सोनीपतसम्म चल्ने भारतकै पहिलो हाइड्रोजन इन्धनद्वारा सञ्चालित रेलको उद्घाटन गरे ।
उत्तरी रेलवेको जिन्द–सोनीपत खण्डमा गुड्ने यस रेलसँगै भारत हाइड्रोजन ऊर्जाबाट यात्रुवाहक रेल परीक्षण गर्ने दक्षिण एसियाको पहिलो देश बनेको छ ।
परम्परागत डिजेल रेलको विपरीत यस नयाँ हाइड्रोजन रेलले गुडिरहेकै अवस्थामा ‘हाइड्रोजन फ्युल सेल’ (इन्धन कोष) को प्रयोग गरी आफैँ विद्युत् उत्पादन गर्छ । यस प्रक्रियामा इन्धन दोहन नहुने भएकाले रेलबाट वातावरणलाई हानी गर्ने कार्बन उत्सर्जन हुँदैन । सह–उत्पादनका रूपमा यसबाट केवल पानीको बाफ र तातो हावा मात्र उत्सर्जन हुन्छ ।
भारतीय रेलमार्ग मन्त्रालयका अनुसार ‘आत्मनिर्भर भारत’ अभियान अन्तर्गत यो परियोजना पूर्ण रूपमा भारतमै डिजाइन र विकास गरिएको हो । यसको प्राविधिक विशिष्टताहरू ‘रिसर्च, डिजाइन एन्ड स्ट्यान्डर्ड अर्गनाइजेसन’ (आरडीएसओ) ले तयार पारेको हो ।
एउटा हाइड्रोजन रेल निर्माण गर्न करिब ८० करोड भारु (१ अर्ब २८ करोड नेपाली रुपैयाँ) खर्च लाग्ने अनुमान गरिएको छ ।
त्यस्तै, छनोट गरिएका ऐतिहासिक (हेरिटेज) र पहाडी रुटहरूमा आवश्यक जमिनको पूर्वाधार तयार गर्न प्रति रुट करिब ७० करोड भारु लागत लाग्नेछ ।
यसबाहेक, भारतीय रेलवेले हाल सञ्चालनमा रहेको डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीइएमयू) रेललाई हाइड्रोजन फ्युल सेल प्रविधिमा रूपान्तरण (रेट्रोफिट) गर्न र आवश्यक पूर्वाधार बनाउन १११.८३ करोड भारुको पाइलट प्रोजेक्ट अघि बढाएको छ ।
भारतको पहिलो हाइड्रोजन रेलबारे थाहा पाउनुपर्ने ५ मुख्य कुराः
१. जिन्द र सोनीपतबीच सञ्चालनयो रेल प्रारम्भिक चरणमा हरियाणाको जिन्द–सोनीपत रुटमा सञ्चालन हुनेछ । यसले जिन्द जंक्सन, गोहाना जंक्सन र सोनीपतलाई जोड्नेछ भने जिन्द सिटी, पाण्डु पिण्डारा जंक्सन, लालित खेरा, भाम्भेवा, इसापुर खेरी, बुटाना, खण्डराई, राबराह, लाथ, मोहाना, र बरवासनी लगायतका मध्यवर्ती स्टेशनहरूमा सेवा दिनेछ । नियमित अवस्थामा रेलको सुरक्षा, विश्वसनीयता र सञ्चालन क्षमताको परीक्षण गर्न यो रुट छनोट गरिएको हो । यो ८९ किलोमिटर लामो रुट हुने छ।
२. कार्यप्रणालीः
हाइड्रोजन र अक्सिजनको मिश्रणयस रेलमा ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन’ (पीइएम) फ्युल सेल राखिएको छ । सिलिन्डरमा भण्डारण गरिएको हाइड्रोजन र हावामा रहेको अक्सिजनबीच फ्युल सेलभित्र रासायनिक प्रतिक्रिया गराई विद्युत् उत्पादन गरिन्छ । सोही विद्युत्बाट रेलको मोटर चल्छ ।
३. गति र यात्रु क्षमताः
यो रेल १० वटा डिब्बा भएको हाइड्रोजन फ्युल सेल ट्रेनसेट हो, जसको क्षमता करिब २,६०० यात्रु बोक्ने रहेको छ । यसमा १,२०० किलोवाटको हाइड्रोजन फ्युल सेल प्रोपल्सन प्रणाली जडान गरिएको छ । यसको डिजाइन गति प्रतिघण्टा ११० किमी भए पनि हाललाई यसलाई अधिकतम ७५ किमी प्रतिघण्टाको गतिमा कुदाउन अनुमति दिइएको छ ।
४. अन्तर्राष्ट्रिय महत्व र फरकपन
यो सुरुवातसँगै भारत जर्मनी, जापान, चीन र अमेरिकासँगै हाइड्रोजन रेल प्रविधि अपनाउने विश्वकै अग्रणी मुलुकहरूको क्लबमा सामेल भएको छ । विश्वभर हाल चलिरहेका अधिकांश हाइड्रोजन यात्रुवाहक रेलहरू केवल २ देखि ३ डिब्बाका मात्र छन् र तिनलाई छोटा क्षेत्रीय रुटमा चलाइन्छ । तर, भारतको यो रेल १० डिब्बाको र २,६०० यात्रु क्षमताको भएकाले नियमित सञ्चालनका लागि विकसित विश्वकै ठूला हाइड्रोजन यात्रुवाहक रेलसेटहरूमध्ये एक बनेको छ ।
५. पहिलो हाइड्रोजन रेलवे इकोसिस्टम
रेललाई इन्धन भर्नका लागि जिन्दमा छुट्टै हाइड्रोजन भण्डारण, कम्प्रेसन र डिस्पेन्सिङ (इन्धन भर्ने) केन्द्र स्थापना गरिएको छ । यसले भारतकै पहिलो एकीकृत हाइड्रोजन रेलवे इकोसिस्टम तयार गर्नेछ, जसले भविष्यमा देशभरी हाइड्रोजन रेल सेवा विस्तार गर्न मार्गप्रशस्त गर्ने रेल मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया