चीनको नेतृत्वमा २९ देशले गरे विश्व एआई सहयोग संगठन स्थापनाको सम्झौतामा हस्ताक्षर

77
Shares

एजेन्सी । बिहीबार २९ देशहरूले विश्व एआई सहयोग संगठन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।

चीनका अनुसार, यो एक अन्तरसरकारी निकाय हो जसको उद्देश्य कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र विश्वव्यापी सुशासनलाई प्रवर्धन गर्नु हो ।

रुस, बेलारुस, सर्बिया, क्युबा, ब्राजिल र भेनेजुएलाका साथै १० अफ्रिकी र १२ एसियाली देशहरू सहित २९ देशका प्रतिनिधिहरूले संस्थापक सदस्यका रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

संगठनको मुख्यालय शाङ्हाईमा रहने चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

वार्षिक विश्व आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनको पूर्वसन्ध्यामा शाङ्हाईमा हस्ताक्षर समारोह आयोजना गरिएको थियो जहाँ चीनका राष्ट्रपति सी चिनपिङले विश्वव्यापी एआई सुशासनमा बेइजिङको भूमिकाका लागि एउटा महत्त्वाकांक्षी दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

चीनले गत वर्षको सम्मेलनमा विश्व एआई सहयोग संगठन निर्माणको प्रस्ताव गरेको थियो तर अहिलेसम्म कुनै पनि देशले औपचारिक रूपमा यसको सदस्यता घोषणा गरेका थिएनन् ।