
एजेन्सी । यो विश्वकप अघिल्ला कुनै पनि प्रतियोगिताहरू भन्दा ठूलो भएको छ ।
धेरै देशहरूको सहभागिता र धेरै खेलहरूको अर्थ हो – खेलमा धेरैको नजर पर्नु र साथै पैसा कमाउने थप अवसरहरू हुनु ।
मैदानमा विश्वका प्रसिद्ध फुटबल खेलाडीहरूले ऐतिहासिक क्षणहरू सिर्जना गरिरहँदा मैदान बाहिर भने अर्बौं डलर आम्दानी भइरहेको छ ।
तर, आर्थिक विजेता र पराजितहरूको यस खेलमा सबैले ठूलो रकम कमाइरहेका छैनन् ।
फिफा– विजेता
विश्व फुटबलको नियामक निकाय फिफाले विश्वकपबाट कमाउने रकम विशाल छ । यसले कतारमा सन् २०२२ मा भएको विश्वकपबाट रेकर्ड ७.६ अर्ब डलर आम्दानी गरेको थियो र सन् २०२६ को अमेरिका, क्यानडा र मेक्सिको संस्करणमा त्यसभन्दा बढी हुने अपेक्षा गरिएको छ । विशेषगरी ४८ टोली सहभागी हुने विस्तारित प्रतियोगिताका कारण बढी कमाइ हुने भएको हो ।
ड्युचे बैंक रिसर्चकी वरिष्ठ रणनीतिकार म्यारियन लाबोरका अनुसार, चार वर्षको चक्रमा करिब १३ अर्ब डलरको आम्दानीका साथ फिफा बिना कुनै शंका मुख्य विजेता हो ।
फिफाको आम्दानी प्रसारण, लाइसेन्सिङ र हस्पिटालिटी अधिकारको बिक्री, प्रायोजन सम्झौता र टिकट बिक्रीबाट आउँछ ।
‘फिफाले आफ्नो आधिकारिक रिसेल मार्केटप्लेस मार्फत दोस्रो बजारमा पनि प्रवेश गरेको छ जहाँ उसले खरिदकर्ता र बिक्रेता दुवैबाट १५ प्रतिशत शुल्क लिन्छ,’ लाबोर थप्छिन् ।
आउने प्रतियोगिताहरूमा हामीले यस्तो अझ बढी देख्ने अपेक्षा गर्नुपर्छ किनकि फिफाले प्रतियोगितालाई ६४ टोलीमा विस्तार गर्ने विचार गरिरहेको छ । त्यसमा चीन र भारत जस्ता देशहरू समावेश हुन सक्छन् र यससँगै अर्बाैं थप दर्शकहरू जोडिनेछन् ।

प्रशंसकहरू – पराजित
प्रशंसकहरूले आफ्नो जीवनभरको सपना पूरा गरेको भए तापनि आर्थिक रूपमा यो प्रतियोगिता कठिन भएको छ ।
टिकटका लागि मात्र तिरिएको ठूलो रकम र फिफाको डाइनामिक प्राइसिङ रणनीतिको आलोचना (जसले माग बढी हुँदा मूल्य बढाउँछ) राम्रोसँग दस्तावेजीकरण गरिएको छ ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले समेत आफ्नो देशको पाराग्वे विरुद्धको उद्घाटन खेलका लागि सम्भावित १ हजार डलरको टिकट मूल्यबारे सोधिएको प्रश्नमा आफूले त्यति पैसा नतिर्ने स्वीकार गरे ।
न्यू जर्सीको मेटलाइफ स्टेडियममा हुने फाइनलको टिकट आधिकारिक रूपमा ३२ हजार ९ सय ७० डलरमा प्रस्ताव गरिएको थियो जबकि केही रिसेल (दोस्रो बजार) टिकटहरू २० लाख डलरभन्दा बढीमा सूचीकृत गरिएका छन् ।
फिफा अध्यक्ष इन्फान्टिनोले टिकटको लागतको बचाउ गर्दै यो अन्य अमेरिकी खेलकुद कार्यक्रमहरूसँग मेल खाने तर्क गरे ।
टिकट बाहेक प्रशंसकहरूलाई हवाई उडान, खाना र आवासले पनि मर्कामा पारेको छ ।
हेडलाइन बनाएको एउटा उदाहरण हो न्यू जर्सी ट्रान्जिट ट्रेनको टिकटमा भएको वृद्धि । मेटलाइफ स्टेडियमसम्मको ३० मिनेटको रेल यात्राको भाडा सामान्य १२.९० डलरबाट बढेर प्रतियोगिताको समयमा १५० डलर पुग्यो । चर्को विरोधपछि मूल्य घटाइयो तर त्योृ अझै सामान्य भन्दा बढी नै थियो ।
प्रसारक र प्रायोजकहरू – विजेता
प्रसारकहरूले टेलिभिजनमा प्रतियोगिता देखाउन ठूलो रकम खर्च गर्नुपरेको भए तापनि दर्शक संख्या र आफ्नो ब्रान्ड देखाउन चाहने प्रायोजकहरूको कारण उनीहरूले विज्ञापन स्लटहरू बेचेर ठूलो नाफा कमाउने सम्भावना छ ।
फिफाले यस विश्वकपका लागि हाइड्रेसन ब्रेक (पानी पिउने विश्राम) सुरु गरेको छ । इन्फान्टिनोका अनुसार, यो कदम पूर्ण रूपमा खेलकुदको विषय थियो र यसबाट नियामक निकायलाई कुनै अतिरिक्त आम्दानी हुँदैन ।तर, खेलाडीहरूलाई पानी
पिउन दिइएको ९० सेकेन्डले आफ्नो ब्रान्ड प्रदर्शन गर्न चाहने प्रसारक र प्रायोजकहरूका लागि नयाँ व्यावसायिक अवसर प्रदान गरेको छ । विशेषगरी अमेरिकामा खेल प्रशंसकहरू विज्ञापनका लागि खेल बीचैमा रोकिने कुरामा अभ्यस्त छन् ।
फक्स स्पोर्ट्सले कथित रूपमा अमेरिकी प्रसारण अधिकारका लागि ४८ करोड ५० लाख डलर तिरेको थियो । उसले हाइड्रेसन ब्रेकलाई कुनै ब्रान्डद्वारा प्रायोजित भनेर प्रस्तुत गर्यो ।
विज्ञहरूका अनुसार, फक्समा औसत ३० सेकेन्डको विश्वकप विज्ञापन स्लटको लागत २ लाख देखि ३ लाख डलरको बीचमा पर्छ । अन्तिम चरणका अमेरिकी खेलहरूको समयमा यो ७ लाख ५० हजार डलरसम्म पुगेको थियो ।
यसको अर्थ हाइड्रेसन ब्रेकका विज्ञापनहरूले अमेरिकामा मात्रै २५ करोड डलर कमाउन सक्छन् । त्यसले गर्दा यी ब्रेकहरू अब सधैंका लागि रहने अनुमान गरिएको छ ।
‘हाइड्रेसन ब्रेकहरू शुद्ध विज्ञापन सामग्री हुन् । यी हटे भने म अत्यन्तै अचम्मित हुनेछु । विस्तारित ढाँचा कायमै रहनेछ किनकि स्केल (विस्तार) नै अब फिफाको व्यापारिक मोडल हो,’ ड्युचे बैंक रिसर्चकी लाबोर भन्छिन् ।
बीबीसी वा आईटीभीमा खेल हेरिरहेका बेलायतका प्रशंसकहरू हाइड्रेसन ब्रेकका विज्ञापनहरूबाट जोगिएका छन् किनभने बीबीसीले कुनै विज्ञापन प्रयोग गर्दैन र आईटीभी ६० मिनेटको अवधिमा प्रयोग गरिने विज्ञापनहरूको नियमद्वारा सीमित छ ।
विश्वकपका आधिकारिक प्रायोजकहरूले आफ्नो ब्रान्डलाई प्रतियोगितासँग जोड्न ठूलो रकम तिर्छन् तर एडिडास र कोकाकोला जस्ता ब्रान्डहरू जताततै देखिने भएकाले उनीहरूले निस्सन्देह वित्तीय लाभ उठाउँछन् ।
जर्मन खेलकुद पोसाक ब्रान्ड (एडिडास) आफ्नो कट्टर प्रतिद्वन्द्वी नाइकीसँगको प्रतिस्पर्धामा होमिएको छ र उसले लामिन यमल, जुड बेलिंघम र लियोनल मेस्सी फिचर गरिएको ब्याकयार्ड लेजेन्ड्स विज्ञापनमा करिब ५ करोड पाउन्ड खर्च गरेको छ ।
केही अनौपचारिक ब्रान्डहरूले फिफाको कडाइबाट लाभ उठाएका छन् । जस्तै, सान फ्रान्सिस्कोको लेभिस स्टेडियम बाहिर रहेको लेभिसको लोगोलाई ढाकिएको थियो ।

डेभिड बेकह्याम – विजेता
एडिडासको मुख्य विज्ञापनमा सर डेभिड बेकह्यामको एआई संस्करण पनि फिचर गरिएको छ । त्यसले साँच्चै भन्ने हो भने व्यक्तिगत रूपमा सुटिङमा उपस्थित हुने समय नपाएको हुन सक्छ ।
बेलायतका पहिलो अर्बपति खेलाडी बेकह्याम ’होम डिपो’ देखि ’बैंक अफ अमेरिका’ सम्मका यति धेरै विज्ञापनहरूमा देखिएका छन् कि उनी वास्तवमा कुन ब्रान्डको प्रतिनिधित्व गरिरहेका छन् भन्ने कुरा बिर्सन सकिन्छ ।
एक दशकभन्दा पहिले खेलबाट संन्यास लिए पनि बेकह्याम अमेरिकी फुटबलको अनुहार बनिरहेका छन् । उनको सहस्वामित्व रहेको अमेरिकी क्लब इन्टर मायामी १.४५ अर्ब डलर मूल्यका साथ मेजर लिग सकरकै सबैभन्दा मूल्यवान फ्रेन्चाइज मानिन्छ ।
उनले मैदानमा विश्वकप जित्न नसकेका होलान् तर मैदान बाहिरको व्यावसायिक खेलमा भने उनले पक्कै जितेका छन् ।
आयोजक शहरहरू – पराजित
अमेरिका, क्यानडा र मेक्सिकोका १६ आयोजक शहरहरूले प्रशंसक र पर्यटकहरूको आगमनलाई स्वागत गरिरहेका छन् । त्यसले हस्पिटालिटी, होटल र स्थानीय व्यवसायलाई बढावा दिएको छ ।
तर, स्कटिशहरूले बोस्टनका रक्सी पसलहरू रित्याए र शहर तथा त्यहाँका मानिसहरूको मन जितेको भए पनि विज्ञहरू भने दीर्घकालीन आर्थिक लाभ न्यूनतम रहेको बताउँछन् ।
फिफाको अनुमान अनुसार, विश्वव्यापी अर्थतन्त्रमा करिब ४१ अर्ब डलर थपिनेछ जसमध्ये १७ अर्ब डलरले अमेरिकाको अर्थतन्त्रलाई मात्र बढावा दिनेछ र १ लाख ८५ हजार रोजगारी सिर्जना हुनेछ जुन प्रायः हस्पिटालिटी र आवास क्षेत्रमा हुनेछ ।
तर, अक्सफोर्ड विश्वविद्यालयका म्यानेजमेन्ट प्राक्टिस फेलो र अक्सफोर्ड ग्लोबल प्रोजेक्ट्सका प्रमुख कार्यकारी अलेक्जेन्डर बुड्जियरका अनुसार, यस्तो ठूलो खेलकुद कार्यक्रम आयोजना गर्दा हुने दीर्घकालीन आर्थिक लाभहरू खासै देखिँदैनन् ।
आयोजक शहरहरूमा वास्तवमा पर्यटकहरूको संख्यामा ठूलो गिरावट आउने गर्छ किनकि धेरै मानिसहरू प्रतियोगिताको भीडभाडबाट बच्न खोज्छन् ।
र कर्मचारी भर्नामा वृद्धि भए तापनि यो सामान्यतया हस्पिटालिटी क्षेत्रमा कम पारिश्रमिक पाउने कामहरूका लागि मात्र हुने उनी तर्क गर्छन् । उनी भन्छन्, ‘यसले रोजगारी सिर्जना गर्छ तर धन सिर्जना गर्दैन ।’
मे महिनामा प्रतियोगिताअघि अमेरिकी पब, बार र रेस्टुरेन्टहरूमा भर्ना बढेको आधिकारिक तथ्यांकले देखाउँछ । तर, त्यो उछाल अल्पकालीन मात्र थियो ।
बुड्जियरका अनुसार, एकमात्र फाइदाजनक आर्थिक लाभ भनेको पुनरुत्थान परियोजनाहरू हुन सक्छन् । जस्तै, सन् २०१२ को ओलम्पिक खेलपछि लन्डनको स्ट्य्राटफोर्डमा गरिएको विकास र आवास निर्माण ।
तर, यस विश्वकपको अधिकांश भागमा अवस्थित रंगशाला, होटल, प्रशिक्षण केन्द्र र यात्रा पूर्वाधार प्रयोग भइरहेकाले विकासबाट कुनै आर्थिक लाभ हुने छैन ।

होटलहरू – पराजित
होटल कोठाहरूको लागि जुन मागको अपेक्षा गरिएको थियो, त्यो पूरा हुन सकेन । उद्योग निकायहरूका अनुसार, आयोजक शहरहरूमा गत वर्षको तुलनामा यो वर्ष बुकिङ कम भएको छ ।
ब्रिटिश कोलम्बिया होटल एसोसिएसनका अनुसार, अन्तिम बुकिङ तथ्यांक पुष्टि हुन बाँकी रहे पनि क्यानडामा भ्यानकुभरले सातवटा खेल आयोजना गरे पनि जुन र जुलाईको बुकिङ अघिल्ला वर्षहरू भन्दा निकै कम थियो ।
यसका अनुसार, प्रतियोगिताहरूले लगातार ४० दिनसम्म होटलहरू हाउसफुल बनाउँदैनन्, बरु केही निश्चित मितिहरूमा मात्र उच्च माग हुने गर्छ ।
अमेरिकी होटल व्यवसायीहरूका लागि पनि प्रतियोगिता अघिको उत्साहले राम्रो नतिजा दिएन ।
अमेरिकन होटल एन्ड लजिङ एसोसिएसनले फिफालाई आफ्नै प्रयोगका लागि धेरै कोठाहरू ब्लक–बुकिङ गरेको र झूटो माग सिर्जना गरेको आरोप लगाएको छ । फिफाले भने यस आरोपलाई अस्वीकार गरेको छ ।
ड्युचे बैंक रिसर्चकी लाबोरका अनुसार, सन् १९९८ मा फ्रान्समा पनि यस्तै भएको थियो जहाँ मागले अपेक्षा पूरा गर्न सकेन ।
‘अप्रिलसम्ममा ८० प्रतिशत अमेरिकी होटल सञ्चालकहरूले बुकिङ उनीहरूको प्रारम्भिक पूर्वानुमान भन्दा कम रहेको बताए । न्यूयोर्कका दुईतिहाइ र सियाटलका झण्डै ८० प्रतिशत होटल व्यवसायीहरूले बुकिङ सोचेभन्दा कम भएको रिपोर्ट गरे जसमध्ये धेरैले यो प्रतियोगितालाई नन–इभेन्ट’ (महत्त्वहीन घटना) भनेका छन्,’ उनी थप्छिन् ।
सट्टेबाजी कम्पनीहरू – विजेता
सन् २०२६ को विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो सट्टेबाजी कार्यक्रम हुने बाटोमा छ । वित्तीय सेवा कम्पनी म्याक्वेरीका अनुसार, करिब ५० अर्ब डलरको सट्टेबाजी हुने अनुमान छ । अर्थात्, प्रति खेल औसत ५० करोड डलरको दाउ लगाइनेछ ।
यो मुख्यतया टोलीहरूको विस्तारका कारण भएको हो । यसको अर्थ, सन् २०२२ को ६४ खेलको तुलनामा यसपटक १०० भन्दा बढी खेलहरू खेलिनेछन् ।
प्याडी पावर, बेटफेयर र स्काई बेटको स्वामित्व रहेको फ्लटर इन्टरटेनमेन्टले अमेरिका र ब्राजिलमा भएको वृद्धिका कारण सट्टेबाजीमा लगाइने रकम अघिल्लो प्रतियोगिताको तुलनामा दोब्बर हुने अनुमान गरेको छ ।
म्याक्वेरीका विश्लेषक चाड बेननका अनुसार, परम्परागत प्रि–म्याच (खेल अघिको) सट्टेबाजी भन्दा इन–प्ले (खेल चलिरहेको बेलाको) सट्टेबाजीले बजार ओगटेको छ ।
‘अहिले सबै कुरा मैदानमा जे देख्नुहुन्छ त्यसमा प्रतिक्रिया दिने र आफ्नो धारणा समायोजन गर्ने बारेमा छ । जबकि पहिले खेल सुरु हुनुअघि नै सट्टेबाजी गर्नुपर्थ्यो र त्यसपछि बसेर नतिजा कुर्नुपर्थ्यो,’ उनी भन्छन् ।
अमेरिकामा खेलकुद सट्टेबाजी अझै पनि तुलनात्मक रूपमा नयाँ उद्योग हो । सन् २०१८ सम्म लास भेगास रहेको नेभाडामा मात्र खेलकुद सट्टेबाजी कानुनी थियो तर सर्वोच्च अदालतको फैसलाले धेरै राज्यहरूलाई यसलाई कानुनी बनाउने बाटो खोलिदियो ।
क्यालिफोर्निया र टेक्सस सहित केही राज्यहरूमा यो अझै अवैध छ । ती क्षेत्रहरूमा प्रिडिक्सन मार्केट (भविष्यवाणी बजार) मा ठूलो संलग्नता देखिएको छ जुन युवाहरू माझ लोकप्रिय, द्रुत रूपमा बढिरहेको अर्बौं डलरको उद्योग हो । यसलाई जुवाको रूपमा वर्गीकृत गरिएको छैन जसको अर्थ हुन्छ मानिसहरू जुनसुकै राज्यमा भए पनि यसको प्रयोग गरी खेलमा बाजी लगाउन सक्छन् ।





प्रतिक्रिया