राष्ट्र बैंकको परिपत्रः सबल कम्पनीको सेयरमा ८० प्रतिशत कर्जा पाइने गरी यस्तो बन्यो मूल्यांकन विधि

1.4k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा नयाँ व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा व्यापक संशोधन र परिमार्जन गरेको हो जसअनुसार सेयर कर्जामा महत्त्वपूर्ण हेरफेर गरेको हो ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा कम्पनीको सबलताका आधारमा थप कर्जा दिन सकिने व्यवस्था गरेको छ । जसअनुसार सेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रकाशित पछिल्लो १८० कार्य दिनको औसत मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको बजार मूल्यको अधिकतम ७० प्रतिशतसम्म मात्र कर्जा दिन पाइने साविकको व्यवस्थालाई निरन्तरता दिइएको छ । जसअनुसार यदि बैंक तथा वित्तीय संस्थाले सूचीकृत कम्पनीको सबलता मूल्यांकन गरी प्रोडक्ट पेपर तयार पारेका छन् भने, त्यस्तो मूल्यांकनमा उच्च अंक पाउने संस्थाको सेयरमा थप १० प्रतिशत (अर्थात् कुल ८० प्रतिशतसम्म) कर्जा प्रवाह गर्न सकिनेछ ।
केन्द्रीय बैंकले चुक्ता पुँजीको आकार, सूचीकरण अवधि, नाफा र लाभांशको इतिहास, क्रेडिट रेटिङ, नियामकीय पालना र साधारण सभाको नियमिततालाई मूल्याङ्कनका आधार मान्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरूले यस्तो ‘प्रोडक्ट पेपर’ आफ्नो वेबसाइटमा अनिवार्य राख्नुपर्नेछ ।