असोजभित्र बैंक खातामा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्नुपर्ने


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना पुराना खातावालाहरूलाई २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरिसक्नुपर्ने भएको छ ।

यस प्रक्रियाका लागि बैंकहरूले मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त डिजिटल माध्यमबाट ग्राहकहरूसँग राष्ट्रिय परिचयपत्र भएरनभएको बारे स्वघोषणा लिनुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेका नागरिकहरूको हकमा सोही अवधिभित्र परिचयपत्र वा परिचयपत्र नम्बर लिएर खाताको विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै ग्राहक पहिचान (केवाइसी) सम्बन्धी व्यवस्थामा राष्ट्रिय परिचयपत्र अध्यावधिक गर्न निर्देशन दिएको हो ।

परिचयपत्र नलिएका नागरिकहरूको हकमा भने बैंकहरूले हरेक ६/६ महिनामा मोबाइल एप्लिकेसन वा अन्य माध्यमबाट जानकारी गराउँदै ग्राहक पहिचान अद्यावधिक गर्ने सुचना दिनुपर्ने व्यवस्था गरेको छ ।

विदेशमा बसोबास गरिरहेका नेपालीहरूको हकमा भने अनलाइनमार्फत खाता खोल्दा तत्काल राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न पाउने सहुलियत दिइएको छ । यद्यपि, यस्ता खातावालाहरू नेपाल फर्किएको १५ दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाएर आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

यसैगरी, विशेष अवस्थाका नागरिकहरूलाई भने राष्ट्र बैंकले यस अनिवार्य व्यवस्थाबाट केही राहत दिएको छ। आफ्नो हेरचाह आफैं गर्न नसक्ने, असक्त, असहाय र १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूको हकमा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा बैंक खाता खोल्न र नियमित कारोबार गर्न बाधा पर्ने छैन ।