
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल ई-बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेड’लाई प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै उक्त कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको जानकारी दिएको हो।
राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा १३ को उपदफा (६) बमोजिम सो संस्थालाई मिति २०७७ फागुन १८ गते दिइएको अनुमतिपत्र रद्द भएको हो। ऐनको उक्त व्यवस्थामा तोकिएको समयभित्र कार्य सञ्चालन नगरेमा वा सर्तहरू पालना नगरेमा अनुमतिपत्र स्वतः रद्द हुने प्रावधान रहेको छ।
यससँगै राष्ट्र बैंकले उक्त कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूलाई आफ्नो लेनदेन बाँकी भए ३० दिनभित्र संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।
‘संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।






प्रतिक्रिया