सरकारद्वारा एकैपटक ६ जना सचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं । सरकारले एकैपटक ६ जना सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, संवैधानिक निकाय र आयोगहरूमा कार्यरत ६ सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पछिल्लो समय चर्चामा रहेका र विभिन्न मन्त्रालयमा छोटो समयमै सरुवा भएका सचिवहरू यस पटकको हेरफेरमा परेका छन् ।

तीन महिनाअघि मात्रै निर्वाचन आयोगबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका सचिव कृष्णबहादुर राउतको पुनः सरुवा भएको छ । उनलाई अब महिला, बालबालिका, जेष्ठ नागरिक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सचिव दीनानाथ मिश्रलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । सो मन्त्रालयलाई ‘महावीर पुनको मन्त्रालय’ को रूपमा समेत चिनिन्छ । यता, पूर्वाधार विकास मन्त्रालय मा कार्यरत सचिव विश्वबाबु पुडासैनीलाई भने राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा सरुवा गरिएको छ।

महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहने गरी तानिएको छ।